• २०८१ बैशाख १६ आइतबार

सुडानमा भोकमरीको खतरनाक जोखिम

kharibot

पोर्ट सुडान । सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ ।

यसले ८० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । यसबाहेक, द्वन्द्वअघि नै आफ्नो घरबाट विस्थापित भएका २० लाखभन्दा बढी नागरिकका कारण सुडानमा विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट निम्त्याएको छ ।

डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले भने, “अहिले लाखौं मानिसको जीवन र सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरता खतरामा परेको छ ।”

“बीस वर्षअघि डार्फरमा विश्वको सबैभन्दा ठूलो भोकमरीको सङ्कट थियो र विश्वले यसको प्रतिकार गर्न एकजुट भएको थियो,” सुडानको विशाल पश्चिमी क्षेत्रतर्फको विस्थापितहरूको अवस्था सङ्केत गर्दै उनले भने । 

तर, पूरानो घाउ आज सुडानका जनताले बिर्सिएका छन् । सन् २००० को दशकको सुरुमा डार्फरमा जातीय अल्पसङ्ख्यक विद्रोहीविरुद्ध पूर्व तानाशाह ओमार अल–बशीरले प्रयोग गरेको जन्जाविद मिलिशियाबाट आरएसएफ आएको हो ।

वर्तमान युद्धमा आरएसएफ र सेना दुवैलाई आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको, सर्वसाधारणलाई निशाना बनाएको र अत्यावश्यक सहायतामा अवरोध पुर्याएको आरोप लगाइएको छ ।

डब्ल्यूएफपीले हाल ‘भोकमरीको आपतकालीन स्तर’ सामना गरिरहेका ९० प्रतिशत मानिसहरूसम्म पुग्न असमर्थ रहेको र सुडानको जनसङ्ख्याको पाँच प्रतिशतले मात्र ‘दिनको एक छाक खाना किन्न सक्ने’ बताएको छ ।

“सुडानबाट छ लाख मानिस भागेको दक्षिण सुडानको भीडभाड युक्त ट्रान्जिट क्याम्पमा मानिसहरू भोकभोकै आउँछन् र उनीहरूलाई थप भोकमरीको सामना गर्नुपर्ने हुन्छ,” डब्ल्यूएफपीले जानकारी गराएको छ । 

डब्ल्यूएफपीका अनुसार सीमा पार गर्ने पाँचमध्ये एक बालबालिका कुपोषित रहेको बताइएको छ ।

सुडानमा एक करोड ८० लाख मानिसले तीव्र खाद्य सुरक्षाको सामना गरिरहेका छन्, जसमध्ये ५० लाख मानिस भोकमरीको भयावह स्तरमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै