• २०८१ बैशाख १६ आइतबार

उपहार अभिनेत्रीको चलचित्र हो

kharibot

काठमाडौँ। चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् ।

आउँदो शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए ।  

“मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु । यो नारीप्रधान चलचित्र हो । हामीले पुरुष पात्रमार्फत कथा भन्ने एकै किसिमका चलचित्र दर्शकमाझ ल्याउनु हुन्न् भन्ने लागेर नयाँ धार र सङ्घर्षको कथा ल्याएको हो”, निर्देशक देउजाले भन्नुभयो, “यो चलचित्र हेर्दा दर्शकले आफ्नै कथा महसुस गर्नु हुन्छ । उहाँहरूकै दुःख, भोगाइ र जीवनलाई चलचित्रमा ल्याउने प्रयास गरेको छु ।”

उनले चलचित्रमार्फत नयाँ प्रतिभालाई अवसर दिएको जानकारी दिए । देउजाका अनुसार अभिनेता, गायक, गायिकाले पहिलोपटक चलचित्रमा काम गरेका छन् । उनले भने, “मैले अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई दर्शकसम्म ल्याउने गरेको थिएँ । हामीले नयाँ र पुराना कलाकारलाई साथमा ल्याउनुपर्छ । यसले गर्दा चलचित्रलाई नयाँ अनुहार पनि प्राप्त हुन्छ ।”

उनले अभिनेत्री रेखा थापासँग सात बढी चलचित्रमा काम गरेकाले सहकार्य सम्भव भएको बताए । अभिनेत्री थापाको निर्माण र अभिनय रहेको चलचित्र भएकाले पनि यसमा महिलाका मुद्दालाई उठाइएको देउजाको भनाइ छ । 

“चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौँ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ”, अभिनेत्री थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु ।”

‘उपहार’ चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय गरेका छन् । 

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय