• २०८१ बैशाख १८ मंगलबार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ अंकगणित

kharibot

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुदै छ । अध्यक्षका लागि माओवादी केन्द्रबाट नारायण दाहाल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसबाट युवराज शर्मा उम्मेदवार बनेका छन् । दुवैले सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

दाहालको प्रस्तावकमा माओवादीका सांसद गोपीबहादुर सार्की रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद रहेका छन् । 

त्यस्तै शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखरकुमार सिंह रहेका छन् ।

योसँगै अध्यक्ष पदमा दाहाल र शर्माबीच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धन दलबाट उम्मेदवार बनेका दाहाल निर्वाचित हुने निश्चित जस्तै देखिएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा अहिले ५८ सदस्य रहेका छन् । राष्ट्रपतिबाट मनोनित हुने एक सदस्य खाली रहेको छ ।

राष्ट्रियसभामा १८ सांसदसहित माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी रहेको छ भने नेपाली कांग्रेस १६ सांसदसहित दोस्रो ठुलो दल रहेको छ । त्यसैगरी एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद रहेका छन् । त्यस्तै लोसपा, राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् । त्यस्तै राष्ट्रपतिबाट मनोनित वामदेव गौतम हाल कुनै पार्टीमा रहेका छैनन् ।

अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्रका १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरि कुल ३९ सांसद रहेका छन्, जुन बहुमतका लागि पर्याप्त रहेको छ । त्यस्तै अहिलेसम्म नेपाली कांग्रेसको पक्षमा १७ सांसद रहेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै