काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई आजै अदालतमा पेश गरिने भएको छ । कपिलवस्तुबाट पक्राउ परेका महरालाई आजै अदालतमा हाजिर गराउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ ।
आज बिहान ९ बजे कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएको थियो । उनलाई आज बिहान ९: ५० बजेको यति एयरलाइन्सको विमानबाट काठमाडौ ल्याइएको हो ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान पूर्व सभामुख समेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।
गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए।