• २०८१ बैशाख १६ आइतबार

अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण

kharibot

अर्घाखाँची।  पाणिनी गाउँपालिका  पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । 

पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ ।  

बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका किसान भाष्करराज पौडेलले भन्नुभयो, “वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ । बाँदर तथा वन्ययजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।”

किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो ।

वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो । 

सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । चालिसदेखि ६० दिनसम्मका कुकुरहरुको खरिद मूल्य प्रतिकुकुर रु ३५ हजार छ । 

बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरुको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमाकान्त न्यौपानेले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै