• २०८१ बैशाख १७ सोमबार

कति छ आइपिएलको ब्राण्ड भ्यालु ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं सिजन शुक्रबारदेखि सुरु हुँदैछ । २ महिनासम्म चल्ने यस प्रतियोगिताबाट बीसीसीआईले रेकर्ड कमाइ गर्दै छ । कमाईको हिसाबले विश्वका अन्य शीर्ष १० क्रिकेट लिगहरूको भन्दा आईपीएल झन्डै चार गुणा अगाडी रहेको छ ।

पाकिस्तानले आफ्नो फ्रेन्चाइज क्रिकेट लिग पीएसएलबाट एक सिजनमा प्रसारण अधिकारबाट जति कमाउँछ, त्यति नै आईपीएलले एक खेल देखाएर कमाउँछ । आईपीएलको ब्रान्ड मूल्य २०२३ मा ८८ हजार करोड भारु रहेको अनुमान गरिएको छ, जसले यसलाई विश्वको नम्बर एक क्रिकेट लिग बनाउछ । 

आईपीएलपछि विश्वका शीर्ष १० क्रिकेट लिगको ब्रान्ड भ्यालु करिब २० हजार करोड भारु छ । ब्रान्ड फाइनान्स, विश्वभरका ठूला ब्रान्डहरूको मूल्याङ्कन गर्ने परामर्शदाताको रिपोर्ट अनुसार, आईपीएलको मात्र ब्रान्ड मूल्य ८८ हजार करोड भारु छ, यो अन्य १० क्रिकेट लिग भन्दा ४.४ गुणाले बढी हो । यसको मतलब विश्वका शीर्ष १० लिगहरू ब्रान्ड मूल्यमा आईपीएल भन्दा ३४० प्रतिशतले पछाडी रहेका छन् ।

इङ्ल्यान्डको ‘द हन्ड्रेड’ प्रतियोगिता क्रिकेट लिगको ब्रान्ड भ्यालुमा दोस्रो स्थानमा छ । पाकिस्तान सुपर लिग (पीएसएल) २,४८६ करोड भारु ब्रान्ड भ्यालुका साथ पाँचौं नम्बरमा छ । यसभन्दा ठीक तल भारतको महिला प्रिमियर लिग छ, जसको ब्रान्ड मूल्य २,२४६ करोड भारु रहेको छ ।

ब्रान्ड मूल्य भनेको लिगको सम्पूर्ण इकोसिस्टमको मूल्य हो । प्रतियोगिताको ब्रान्ड मूल्य यसको प्रसारण अधिकार, राजस्व, स्टेडियम उपस्थिति, प्रायोजक, शीर्षक अधिकार, टिभी र अनलाइन दर्शकहरू, खेलाडी मूल्य निर्धारण, टोली मूल्य निर्धारण, र विज्ञापनद्वारा निर्धारण गरिन्छ ।

२०२३ मा आईपीएलको ब्रान्ड मूल्य लगभग ८८ हजार करोड भारु थियो । यसको मतलब, यदि कोही आईपीएलको मालिक बन्न चाहन्छ भने उसले बिसीसीआईलाई ८८ हजार करोड भारु मुल्य तिर्नु पर्ने हुन्छ ।

२०२३ मा, बीसीसीआईले आईपीएलको डिजिटल र टिभी अधिकारहरू बेचेर ४८ हजार ३९१ करोड भारु प्राप्त गर्यो । यो रकम ५ वर्षको खेलका लागि प्राप्त भएको थियो, अर्थात् एक सिजनका लागि प्रसारणकर्ताहरूले ९ हजार ६७८ करोड भारु तिरेका थिए । यस अनुसार बीसीसीआईले एक खेल देखाउन १ सय १९ करोड भारु पाइरहेको छ ।

प्रसारकहरूले पीएसएलको एक सिजनका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई १२४ करोड रुपैयाँ तिरेका छन् । अर्थात् एक खेलबाट ३.६० करोड रुपैयाँ । बिसीसीआईले वुमन्स प्रिमियर लिगको एक खेल पनि प्रसारणबाट ८.७० करोड कमाउँछ, जुन पीएसएल  खेल भन्दा साढे दुई गुणा बढी हो ।

अस्ट्रेलियाको बिग ब्यास लिगको प्रसारण अधिकारमा दोस्रो स्थानमा छ। क्रिकेट अष्ट्रेलियाले यहाँ एक खेलका लागि १४.५० करोड भारु पाउँछ । यस मामिलामा वुमन्स प्रिमियर लिग तेस्रो स्थानमा र द हन्ड्रेड लिग चौथो स्थानमा छ ।

आईपीएलमा खेलाडीको औसत तलब ४ करोड रुपैयाँ छ, जुन शीर्ष क्रिकेट लिगको दोस्रो महँगो खेलाडीको मूल्य बराबर हो । आईपीएल टोलीसँग २५ खेलाडीको टोली बनाउन १०० करोडको सीमा हुन्छ । १० टोलीले प्रतियोगिता खेल्छन् अर्थात २५० खेलाडीले एक हजार करोड रुपैयाँ पारिश्रमिक पाउछन् ।

खेलाडीको तलबमा बिग बास लिग दोस्रो स्थानमा छ, यहाँ ८ टोलीले खेलाडीको तलबमा १२८ करोड भारु खर्च गर्छन् । दक्षिण अफ्रिकाको एसए २० लिग औसत तलबमा दोस्रो स्थानमा छ । १०८ खेलाडीको औसत पारिश्रमिक करिब १ करोड रुपैयाँ रहेको छ । पीएसएलमा खेलाडीको औसत तलब ५० लाख रुपैयाँ छ ।

पछिल्लो आईपीएल लिलामीले क्रिकेट लिगमा खेलाडीको कमाईको सबै रेकर्ड तोड्यो । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो । जुन युएई लिग आइएलटी २० को सबैभन्दा महँगो खेलाडी डेभिड वार्नरको ४ करोड १४ लाखको मुल्य भन्दा २०.६१ करोड रुपैयाँ बढी हो ।

ट्रिस्टन स्टब्स दक्षिण अफ्रिकी एसए २० लिगका सबैभन्दा महँगो खेलाडी हुन्। उनलाई सनराइजर्सको टोलीले ४.१० करोडमा किनेको छ । यी बाहेक बाँकी लिगमा सबैभन्दा महँगा खेलाडीको मूल्य ३.५० करोड रुपैयाँभन्दा कम छ, जुन आईपीएलको औसत तलब (४ करोड रुपैयाँ) बराबर पनि छैन ।

पीएसएलका सबैभन्दा महँगा खेलाडी शाहीन शाह अफ्रिदी र बाबर आजमको मूल्य १.४० करोड भारु रहेको छ । जुन डब्लुपीएलकी सबैभन्दा महँगो खेलाडी स्मृति मन्धानाभन्दा २ करोड कम हो । मन्धनाको मूल्य ३.४० करोड भारु रहेको छ ।

पछिल्लो आईपीएल लिलामीमा स्टार्क मात्र नभई उनको राष्ट्रिय टोलीका कप्तान प्याट कमिन्सको पनि २० करोड भारुभन्दा बढी खर्च भएको थियो । उनलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो । 

आईपीएलका शीर्ष १० सबैभन्दा महँगा खेलाडीको मूल्य पनि १६ करोड रुपैयाँभन्दा बढी छ । शीर्ष ४ स्थानमा रहेका सबै विदेशी छन्, जसमा अष्ट्रेलियाका ३ खेलाडी छन् । केएल राहुल र विराट कोहलीको कमाई भारतीयमा सबैभन्दा धेरै छ । लखनउको टोलीले राहुललाई १७ करोड र विराटलाई १७ करोड रुपैयाँ दिन्छ ।

टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आइसीसीबाट प्रत्येक १३-१३ करोड भारु पाउँछन्, जुन आईपीएल च्याम्पियनको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले पनि १५ करोड रुपैयाँ पाउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै