• २०८१ बैशाख १५ शनिबार

फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागरः उपसभामुख रानामगर

kharibot

पाटन (ललितपुर)। उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताएकि छिन् ।

गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताइन् । 

उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिहरुको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गरिन् ।

“फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ”, उनले भनिन्, “दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि  मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।” 

गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवद्र्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

उनले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताइन् ।

राष्ट्रिय फोटो पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवद्र्ध्न गर्न मद्दत पुग्ने बताए । उनले फोटो प्रदर्शनीले दुई देशबीच सामिप्यता बढाउने बताए । 

नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले चीनको हरेक सहरको उत्तिकै विकास भएको बताउदै त्यहाँको रहनसहन नेपालसँग मिल्दोजुल्दो भएको बताए ।

उनले गान्सु प्रदेश जनजातिको बस्ती भएको बताउदै त्यहाँको फोटो प्रदर्शनीले नेपालको विकासका लागि पनि सहयोगी हुनसक्छ भन्ने अपेक्षा रहेको बताए ।

नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा हरिश्चन्द्र शाहले यस प्रदर्शनीले नेपाल र चीनबीचको प्राचीन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याएको र सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताए । 

तीन हजार भन्दाबढी सदस्य रहेको गान्सु मोर्डन फोटोग्राफी संस्थाबाट १६ जना उपस्थिति थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै