• २०८१ बैशाख १४ शुक्रबार

विश्वकपको सेमीफाइनलमा युरोपका चार देश, यस्तो छ विश्वकप यात्रा 

kharibot

काठमाडौँ । यस विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । 

३२ देशले भाग लिएको यस विश्वकपमा फ्रान्स, बेल्जियम, इङल्याण्ड र क्रोसिया सेमिफाइनलमा पुगेका छन् । जसमध्ये फ्रान्स र इङल्याण्डले एक एक पटक विश्वकप जितेका छन् भने बेल्जियम र क्रोसियाले भने विश्वकप अहिलेसम्म जितेका छैनन् । 

विश्वकप फुटबलको ८८ बर्षको इतिहासमा ल्याटिन अमेरिकी र युरोपको लडाईमा यस पटक पनि युरोपले जितेको छ । अमेरिकी, अफ्रिकी र एशियाली देश बाहिरिए पछि अब यस बर्ष पनि विश्वकप युरोपको देशले जित्ने पक्का भएको छ । विश्वकपको इतिहासमा यो पाचौ पटक हो जब कुनै युरोपका चार देश सेमिफाइनलमा पुगेका छन् । 

अब सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा क्रोसिया र इङल्याण्ड खेल्ने भएका छन् । पहिलो सेमिफाइनल आगामी जुलाई १० तारिख अर्थात असार २६ गते मंगलबार फ्रान्स र बेल्जियमबीच हुने छ भने दोस्रो सेमिफाइनल जुलाई ११ तारिख अर्थात असार २७ गते बुधबार क्रोसिया र इङल्याण्डबीच हुने छ । दुवै खेल नेपाली समय अनुसार राति ११:४५ बजे हुने छन् ।

यस विश्वकपमा सेमिफाइनलमा पुगेका चार देशको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन र यस विश्वकपको यात्राको बारेमा चर्चा गरौ :    

फ्रान्स :

सन् १९९८ को विश्वकप विजेता फ्रान्स यस विश्वकपसहित १५औ पटक विश्वकप खेलिरहेको छ । फ्रान्सले सन् १९९८ मा आयोजकको रुपमा विश्वकप जितेको थियो । त्यस बाहेक फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यस्तै सन् १९५८, १९८२, १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै सन् १९३८ र २०१४ मा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो ।

फ्रान्सले यस विश्वकपमा समुह चरणका तीन खेलमा २ मा जित र एक बराबरी गरेर नकआउट चरणमा पुगेको थियो । समुह चरणमा फ्रान्सले अस्ट्रेलियालाई २-१ ले र पेरुलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने डेनमार्कसँग बिना कुनै गोल बराबरी खेलेको थियो । नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

बेल्जियम : 

विश्वकपमा बेल्जियम यस पटकसहित १३औ पटक खेलिरहेको छ । बेल्जियम सन् १९८६ विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै अहिलेसम्मको विश्वकपको उत्कृष्ट प्रदर्शन हो । त्यो बाहेक बेल्जियम सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यस विश्वकपमा बेल्जियम अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ । समुह चरणमा बेल्जियमले पानामालाई ३-० ले, ट्युनिसियालाई ५-२ ले र इङल्याण्डलाई १-० ले पराजित गरेको थियो । 

त्यस्तै नकआउट चरणमा जापानलाई ३-२ गोल अन्तरले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा पुगेको थियो भने क्वाटरफाइनलमा ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै यस विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

क्रोसिया : 

सन् १९९० सम्म युगोस्लाभियाको नामबाट खेलेको क्रोसिया त्यस यता यस पटक सहित पाचौ पटक विश्वकप खेलिरहेको छ । १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै अहिलेसम्म क्रोसियाको उत्कृष्ट प्रदर्शन हो । अन्य तीन विश्वकप खेलमा भने समुह चरणबाट नै बाहिरिएको थियो । 

यस विश्वकपमा क्रोसिया अपराजित हुदै सेमिफाइनलसम पुगेको छ । समुह चरणका खेलमा नाइजेरियालाई २-० ले, अर्जेन्टिनालाई ३-० ले र आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्रोसिया नकआउट चरणमा पुगेको थियो । नकआउटचरणको पहिलो खेलमा क्रोसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले र क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

इङल्याण्ड : 

सन् १९६६ को विश्वकप जितेको इङल्याण्ड १५औ पटक विश्वकप खेलिरहेको छ । १९६६ मा आफैले आयोजना गरेको विश्वकप जित्न सफल भएको इङल्याण्ड त्यसपछि भने फाइनलसम्म पुग्न सकेको छैन । त्यसपछि १९९० मा सेमिफाइनलसम्म पुगेको इङल्याण्ड१९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा क्वाटरफाइनलसम्म पुगेको थियो । गत विश्वकपमा समुह चरणबाट बाहिरिएको इङल्याण्ड १९३०, १९३८, १९७४, १९७८ र १९९४ को विश्वकपमा छनौट भएको थिएन । 

यस विश्वकपमा इङल्याण्डले समुह चरणका तिन मध्ये २ मा जित र एक मा हार बेहोरेको थियो । समुहचरणमा ट्युनिसियालाई २-१ ले, पानामालाई ६-१ ले जितेको थियो भने बेल्जियमसँग १-० ले हारेको थियो । त्यस्तै नकआउट चरणमा कोलोम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको थियो भने क्वाटरफाइनलमा स्विडेनलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।         
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै