• २०८१ बैशाख १५ शनिबार

विश्वकप उपाधिका लागि फ्रान्स र क्रोसिया भिड्दै, कसले जित्ला ४ अर्ब पुरस्कार राशी ? 

kharibot

काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र क्रोसिया खेल्ने भएका छन् । विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे हुदै छ ।  

दोस्रो सेमिफाइनलमा क्रोसियाले इङल्याण्डलाई पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो भने फ्रान्सले बेल्जियमलाई पराजित गरेर विश्वकपको फाइनलमा पुगेको हो । क्रोसिया विश्वकपको फाइनलमा पहिलो पटक पुगेको छ भने फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । 

विश्वकप यात्रा :

फ्रान्स : फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । यस अघि सन् १९९८ को विश्वकप विजेता फ्रान्स यस विश्वकपसहित १५औ पटक विश्वकप खेलिरहेको छ । फ्रान्सले सन् १९९८ मा आयोजकको रुपमा विश्वकप जितेको थियो । त्यस बाहेक फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यस्तै सन् १९५८, १९८२, १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै सन् १९३८ र २०१४ मा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो ।

यस विश्वकपमा फ्रान्सले यस विश्वकपमा समुह चरणका तीन खेलमा २ मा जित र एक बराबरी गरेर नकआउट चरणमा पुगेको थियो । समुह चरणमा फ्रान्सले अस्ट्रेलियालाई २-१ ले र पेरुलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने डेनमार्कसँग बिना कुनै गोल बराबरी खेलेको थियो । 

नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यसैगरी सेमिफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

फ्रान्सले फाइनलसम्म पुग्दा कुल १० गोल गरेको छ भने ४ गोल खाएको छ । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान र किलियन एम्बाप्पेले अहिलेसम्म ३-३ गोल गरेका छन् भने साम्युअल उमटिटि, राफेल भेरान र बेन्जामिन पभार्डले एक एक गोल गरेका छन् ।

क्रोसिया : सन् १९९० सम्म युगोस्लाभियाको नामबाट खेलेको क्रोसिया त्यस यता यस पटक सहित पाचौ पटक विश्वकप खेलिरहेको छ । १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै अहिलेसम्म क्रोसियाको उत्कृष्ट प्रदर्शन हो । अन्य तीन विश्वकप खेलमा भने समुह चरणबाट नै बाहिरिएको थियो । 

यस विश्वकपमा क्रोसिया अपराजित हुदै सेमिफाइनलसम पुगेको छ । समुह चरणका खेलमा नाइजेरियालाई २-० ले, अर्जेन्टिनालाई ३-० ले र आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्रोसिया नकआउट चरणमा पुगेको थियो ।

नकआउटचरणको पहिलो खेलमा क्रोसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले र क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस विश्वकपको सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनलमा इङल्याण्डलाई २-१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

क्रोसियाले फाइनलसम्म पुग्दा कुल ६ खेलमा १२ गोल गरेको छ भने ५ गोल खाएको छ । क्रोसियाका लागि लुका मोड्रीच, इभान पेरिसिक र मारियो माण्डजुरिकले २-२ गोल गरेका छन् । त्यस्तै आन्द्रेज क्रमरिक, एन्टे रेबिक, इभान राकिटिक, डोमागोज भिडा र मिलन बाडेजोले एक एक गोल गरेका छन् ।        

       

हेड टु हेड :

फ्रान्स र् क्रोसियाबीच अहिलेसम्म ५ पटक भेट भएको छ जसमा फ्रान्सले २ पटक जित हासिल गरेको छ भने ३ खेल बराबरीमा सकिएका छन् । क्रोसी ले फ्रान्सविरुद्ध अहिलेसम्म जित हासिल गर्न सकेको छैन । विश्वकपमा भने यी दुई देशको यो दोस्रो भेट हो । यसअघि सन् १९९८ को विश्वकपमा फ्रान्सले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

विश्वकप जित्नेले कति पुरस्कार पाउछन् ?

विश्वकपको फाइनल खेल हुने लाग्दा विश्वकप जित्ने टिमले कति पुरस्कार पाउला भन्ने कौतुहलता हुनु स्वाभाविकै हो । 

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर अर्थात् लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ बनाएको छ । 

ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलर अर्थात् ३८ अर्ब ६६ करोडको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अर्थात् ३ अर्ब ७८ करोड पुरस्कार लगेको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २५ मिलियन २ अर्ब ७० करोड पाएको थियो । विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख डलर अर्थात् ८६ करोड ४० लाख रकम पाएका थिए । 

यस विश्वकपमा ४ सय मिलियन अमेरिकी डलर अर्थात लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कारको रुपमा फिफाले वितरण गर्ने छ । जसमा विश्वकपमा भाग लिएका टिमले कम्तिमा पनि ८ मिलियन डलर अर्थात ८६ करोड ४० लाख नेपाली रुपैयाँ रकम पाउने छन् । 

त्यस्तै विश्वकपको समुह चरण पार गरेर अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब २९ करोड नेपाली रुपैयाँ रकम पाउने छन् । त्यस्तै अन्तिम १६ बाट क्वाटरफाइनलमा पुग्ने टिमले थप ४ मिलियन थप गरि १६ मिलियन डलर अर्थात् एक अर्ब ७२ करोड नेपाली रुपैयाँ पाउने छन् ।

त्यसैगरि सेमिफाइनलमा पुगेर फाइनल पुग्न अफसल भएका दुई टिममा ४६ मिलियन डलर बाडिने छ । जसमा तेस्रो स्थान हासिल गर्ने टिमले २४ मिलियन डलर अर्थात् २ अर्ब ५९ करोड नेपाली रुपैयाँ र चौथो हुनेले २२ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड नेपाली रुपैया पाउने छन् ।

त्यस्तै फाइनलमा पुग्ने दुई टिमबीच कुल ६६ मिलियन डलर बाडिने छ । जसमा विश्वकपको उपाधि जित्ने टिमले ३८ मिलियन डलर अर्थात् ४ अर्ब १० करोड नेपाली रुपैयाँ र पराजित हुने टिमले २८ मिलियन डलर अर्थात् ३ अर्ब २ करोड नेपाली रकम पाउने भएका छन् ।

(अमेरिकी डलर १ बराबर १०८ नेपाली रुपियाँ अनुसार हिसाब गरिएको छ)

फाइनल खेल हुने स्टेडियम :

फ्रान्स र् क्रोसियाबीच मस्कोको लुझहनिकी स्टेडियममा हुदै छ । रसियाको राजधानीस्थित मस्कोमा रहेको यस स्टेडियममा ८१ हजार दर्शक क्षमता रहेको छ । यो रसियामा भएको विश्वकपमा खेलाइएका खेलका लागि यो प्रमुख स्टेडियम हो । 

यस स्टेडियममा यस विश्वकपको उद्घाटन खेल सहित समुह चरणका चार खेल खेलिएको थियो । पहिलो खेल आयोजक रसिया र् साउदी अरबबीचको खेल खेलिएको थियो । त्यस्तै जर्मनी र् मेक्सिको, पोर्चुगल र् मोरक्को बीचको खेल यसै मैदानमा खेलिएको थियो । त्यस्तै समुह चरणको डेनमार्क र् फ्रान्सबीचको कहल पनि यसै मैदानमा खेलिएको थियो ।

त्यस्तै अन्तिम १६ को स्पेन र् आयोजक रसियाबीचको खेल पनि यसै मैदानमा खेलिएको थियो, जसमा रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै क्रोसिया र इल्याण्डबीचको सेमिफाइनलको खेल यसै मैदानमा भएको थियो, जसमा क्रोसियाले २-१ ले जित हासिल गरेको थियो ।

यस मैदानमा दर्शक प्रवेश गर्ने ४२७ ढोका रहेका छन् भने ३ हजार क्यामरा र् ९ सय स्क्यानर, मोनिटर र् डीटेक्टरको व्यवस्था रहेका छन् । साथै यो स्टेडियम अपांगता मैत्री समेत रहेको बताइएको छ ।

यस स्टेडियमको निर्माण तत्कालिन सोभियत संघले सन् १९५४ मा निर्माण गरेको थियो । यो रसियाको सबै भन्दा ठुलो स्टेडियम हो भने युरोपको ठुलो स्टेडियम मध्ये एक हो ।  

विश्वकप फाइनल :

पछिल्ला तीन विश्वकपको नतिजा ९० मिनेटमा आएको छैन । २००६ को विश्वकपको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । अतिरिक्त समयसम्मको खेलमा फ्रान्स र इटाली १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो, जसमा इटालीले ५-३ ले जितेको थियो ।

त्यस्तै सन् २०१० को विश्वकपको नतिजा अतिरिक्त समयमा आएको थियो । अतिरिक्त समयमा स्पेनले नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो । त्यस्तै २०१४ को विश्वकपमा जर्मनीले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित हरेको थियो । 

अहिलेसम्म भएका २० विश्वकपमा ७ पटक विश्वकपको निर्णय अतिरिक्त समयमा भएको छ जसमा १९९४ र २००६ मा अन्तिम नतिजा पेनाल्टी सुटआउटबाट भएको छ ।

निष्कर्ष :

यस पटकको विश्वकप फाइनलमा फ्रान्सको आक्रमण र क्रोसियाको डिफेन्स तथा क्रोसियाको मिडफिल्ड र् फ्रान्सको डिफेन्सबीचको लडाई देखिन सक्दछ । 

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोसिया फ्रान्सले भन्दा अलि परिपक्क खेल देखाएको छ तर फ्रान्सको आक्रमण बलियो देखिन्छ । तर बेल्जियमविरुद्ध १-० को जितमा फ्रान्सको आक्रमण धारको प्रदर्शन सन्तोषजनक थिएन । त्यस खेलको आधारमा भन्दा क्रोसियालाई अलिकति एडभान्टेज दिन सकिन्छ ।

तर विश्वकपको फाइनल भएकाले यसै टिमले जित्छ भन्न भने गार्हो छ । मोड्रीच, राकिटिकको अनुभव तथा एम्बाप्पे र पोग्वाको युवा जोसले फाइनल खेल रोचक हुने कुरामा कुनै शंका देखिदैन ।


 
   
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै