काठमाडौँ । अतिवादी संगठन जैश-ए-मोहम्मदले भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएको छ ।
जैश-ए-मोहम्मद (जेईएम) ले विज्ञप्ति जारी गर्दै मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेका छन् ।
जैश-ए-मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगीहरू र ती सहयोगीहरूमध्ये एककी आमा आक्रमणमा मारिएको जनाएको छ ।
विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तहरूको मृत्यु भएको हो ।
फेब्रुअरी २०१९ मा, जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए ।
बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६-७ मे २०२५ को राति १:०५ देखि १:३० बजेको बीचमा 'अपरेशन सिन्दूर' सुरु गरेको बताइन्।
उनले भनिन्, 'यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेशनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो ।'
पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको बताएको छ भने भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ।









