काठमाडौँ । बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा मृदुला सरियालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) अनुसारको कसुर सम्बन्धमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा उक्त कसुरमा संलग्न रहेको आरोपमा झापाको साविक भद्रपुर गाउँ विकास समिति–११ निवासी ३९ वर्षीया मृदुला सरियालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई बिहीबार काठमाडौँ महानगरपालिका–५, सानो गौचरणबाट पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।









