काठमाडौं । उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ ।
चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ । तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।
“हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक रुपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ,” निर्देशक कपिल रिजालले भने, “तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदैछ ।”
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांशले शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको बताइएको छ ।
पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ । कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका सिनेमा भन्दै चलचित्रको तारिफ गरिरहेका छन् । एउटै परिवारबाट १०÷१५ जनासम्मले सिनेमा हेरिरहेका छन् । हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रुपमा बढी देखिने गरेको छ ।
चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।









