काठमाडौँ । हरेक वर्ष जुलाई २५ मा विश्व आईभीएफ दिवस मनाइन्छ । सन् १९७८ मा विश्वकै पहिलो आईभीएफ प्रविधिबाट जन्मिएकी शिशु लुइस जोय ब्राउनको जन्मको सम्झनामा यो दिवस मनाउने गरिन्छ । साथै, सन्तान प्राप्तिमा सहयोग पुर्याउने भ्रूण विज्ञान विशेषज्ञ र प्रजनन स्वास्थ्य विज्ञहरूको योगदानको सम्मान गर्ने उद्देश्य पनि यस दिवससँग जोडिएको छ ।
यो दिवसले प्रजनन विज्ञानमा भएका प्रगतिबारे जनचेतना फैलाउनुका साथै बाँझोपनसम्बन्धी सामाजिक भ्रम हटाउन र उपचारका उपलब्ध विकल्पबारे जानकारी गराउने लक्ष्य राख्छ ।
सन् १९७८ जुलाई २५ मा बेलायतमा लुइस जोय ब्राउनको जन्मसँगै प्रयोगशालामा निषेचन गरिएको भ्रूणलाई सफलतापूर्वक गर्भाशयमा प्रत्यारोपण गरेर स्वस्थ शिशु जन्माउन सकिने प्रमाणित भएको थियो ।
यो ऐतिहासिक उपलब्धि वैज्ञानिक रोबर्ट एडवार्ड्स, प्याट्रिक स्टेप्टो र जिन पर्डीको संयुक्त प्रयासबाट सम्भव भएको थियो। त्यसयता आईभीएफ प्रविधिले विश्वभर लाखौँ दम्पतीलाई सन्तान प्राप्तिको अवसर प्रदान गरेको छ।
विश्व आईभीएफ दिवसलाई विश्व भ्रूण विज्ञान विशेषज्ञ दिवसका रूपमा पनि मनाइन्छ। कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोगशालामा हुने अत्यन्त संवेदनशील काममा भ्रूण विज्ञान विशेषज्ञको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूको योगदानको सम्मान गर्न यो दिवस विशेष मानिन्छ।
विश्वभर धेरै दम्पती बाँझोपनको समस्याबाट प्रभावित भए पनि सामाजिक लाञ्छना र जानकारीको अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अझै कायम छ। यस दिवसले यस्ता भ्रम हटाउँदै प्रजनन स्वास्थ्य, उपचारका विकल्प र यथार्थपरक अपेक्षाबारे जनचेतना फैलाउने प्रयास गर्छ।
पछिल्ला दशकहरूमा आईभीएफ प्रविधिमा उल्लेखनीय सुधार भएको छ। अत्याधुनिक प्रयोगशाला प्रविधि र व्यक्तिअनुसार तयार गरिने हर्मोन उपचारका कारण सफलताको दर विगतको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।
त्यसैगरी, भ्रूणको आनुवंशिक परीक्षणमार्फत भ्रूणको गुणस्तर तथा गुणसूत्रको अवस्था जाँच्न सकिने सुविधा विकास भएको छ। साथै, अण्डाणु, शुक्रकीट र भ्रूणलाई सुरक्षित रूपमा दीर्घकालसम्म संरक्षण गर्न सकिने आधुनिक शीत संरक्षण प्रविधिले पनि उपचारलाई अझ प्रभावकारी बनाएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार समयमै परामर्श, सही उपचार र आधुनिक प्रविधिको प्रयोगबाट धेरै दम्पतीले सन्तान प्राप्तिको सपना पूरा गर्न सफल भइरहेका छन् ।









