• २०८३ श्रावण १३ बुधबार

रोबर्टो मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

रोबर्टो मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । रोबर्टो मान्चिनी दोस्रो पटक इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आन्द्रे पिर्लोले प्रशिक्षक बन्ने दौडबाट आफूलाई अलग गरेको एक दिनपछि इटाली फुटबल महासंघले मान्चिनीलाई पुनः जिम्मेवारी दिएको हो ।

यसअघि इटालीका मुख्य प्रशिक्षक रहेका जेन्नारो गात्तुसोले अप्रिलमा पद छाडेका थिए । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि उनको कार्यकाल समाप्त भएको थियो ।

गात्तुसोको स्थानमा पिर्लो नियुक्त हुने लगभग निश्चित मानिएको थियो । तर रुसको एक सट्टेबाजी कम्पनीसँगको सम्बन्धलाई लिएर विवाद भएपछि उनले सोमबार आफू उम्मेदवार नरहेको घोषणा गरेका थिए । इटाली फुटबल महासंघका अध्यक्ष जोभानी मालागोले रोबर्टो मान्चिनी नै राष्ट्रिय टोलीको नेतृत्वका लागि सबैभन्दा उपयुक्त व्यक्ति भएको विश्वासका साथ उनलाई नियुक्त गरिएको बताएका छन् ।

यसैबीच, प्राविधिक निर्देशक पाओलो माल्दिनीले पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा क्लाउडियो रानेरी नियुक्त भएका छन् । माल्दिनी र सल्लाहकार लियोनार्दोले पिर्लोलाई प्रशिक्षक नबनाउने निर्णयपछि पद त्याग गरेका हुन् । महासंघले पिर्लोअघि पेप ग्वार्डिओला र कार्लो आन्चेलोत्तीसँग पनि प्रशिक्षक पदका लागि छलफल गरेको थियो ।

६१ वर्षीय मान्चिनीले सन् २०१८ देखि २०२३ सम्म इटालीको नेतृत्व गरेका थिए । उनको प्रशिक्षणमा इटालीले सन् २०२० को युरोपेली फुटबल च्याम्पियनसिपको उपाधि जितेको थियो । फाइनलमा इङ्ग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन बनेको थियो । मान्चिनीको नेतृत्वमा इटालीले लगातार ३७ खेल अपराजित रहने विश्व कीर्तिमान पनि बनाएको थियो । तर सन् २०२२ को विश्वकप छनोटको प्लेअफमा उत्तर म्यासेडोनियासँग पराजित भएपछि टोली विश्वकपमा पुग्न असफल भयो । त्यसपछि उनले सन् २०२३ को अगस्टमा पदबाट राजीनामा दिएका थिए ।

यस वर्ष पनि विश्वकप छनोटको प्लेअफमा असफल भएपछि इटाली लगातार अर्को विश्वकपबाट पनि बाहिरिएको थियो । त्यसपछि गात्तुसोसँग आपसी सहमतिमा सम्झौता अन्त्य गरिएको थियो । 

इटालीले पछिल्लोपटक सन् २०१४ मा विश्वकपको अन्तिम चरण खेलेको थियो। त्यसयता टोली विश्वकपमा पुग्न सकेको छैन । गात्तुसोको बहिर्गमनपछि एक्काइस वर्षमुनिको टोलीका प्रशिक्षक सिल्भियो बाल्दिनीले अन्तरिम रूपमा जिम्मेवारी सम्हालेका थिए । मान्चिनीले क्लब फुटबलमा म्यानचेस्टर सिटीलाई सन् २०१२ मा पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए । उनले लाजियो र इन्टर मिलानसँग इटाली कप तथा इन्टरसँग तीन पटक इटालीको शीर्ष डिभिजनको उपाधि जिताएका छन् । उनले गलातासराय र जेनिट सेन्ट पिटर्सबर्गको पनि प्रशिक्षण गरेका थिए ।

इटाली छाडेपछि उनले साउदी अरेबियाको राष्ट्रिय टोली र त्यसपछि कतारको अल साद क्लबको नेतृत्व गरेका थिए । अल सादले कतार स्टार्स लिग जिते पनि एसियाली च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्न सकेन भने कतार कपको फाइनलमा पराजित भएको थियो । त्यसपछि उनले जुन महिनामा क्लब छाडेका थिए ।

मान्चिनीको पुनरागमनसँगै इटालीले आगामी सेप्टेम्बर २५ मा बेल्जियमविरुद्ध घरेलु मैदानमा नेसन्स लिग अभियान सुरु गर्नेछ । त्यसको तीन दिनपछि इटालीले टर्कीको मैदानमा अर्को खेल खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै