• २०८३ श्रावण २४ आइतबार

बाइडेनको क्यान्सर गम्भीर बन्दै

बाइडेनको क्यान्सर गम्भीर बन्दै

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलिएको र उनलाई अत्यधिक पीडा भइरहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् ।

बिबिसीसँगको अन्तर्वार्ताका क्रममा हन्टरले आफ्ना बुबाको क्यान्सर हड्डीमा फैलिनुका साथै अन्य भागमा समेत फैलिएको बताएका हुन् । उनले बाइडेनको अवस्था निकै पीडादायी र दैनिक जीवनमा गम्भीर असर पार्ने खालको रहेको बताए ।

आफ्ना बुबाको स्वास्थ्य अवस्थाबारे बोल्ने क्रममा हन्टर भावुकसमेत भएका थिए । उनले बुबाको अवस्था हेर्न निकै कठिन र दुःखद रहेको बताए । यद्यपि, बाइडेन अझै सक्रिय रहेको र अमेरिकाप्रति आफ्नो प्रतिबद्धता कायम राखेको उनले उल्लेख गरे ।

बाइडेनले सन् २०२५ को मे महिनामा आफूलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए । त्यतिबेला नै क्यान्सर हड्डीमा फैलिसकेको पाइएको थियो । उनले त्यसपछि विकिरण उपचार र हर्मोन उपचार गराएका थिए ।

गत महिना आफ्नो आगामी संस्मरण सार्वजनिक गर्ने घोषणा गर्दा बाइडेनले उपचार निकै राम्रो ढङ्गले अघि बढिरहेको बताएका थिए । तर, उनका छोराको पछिल्लो भनाइले बाइडेनको स्वास्थ्य अवस्था पुनः गम्भीर बनेको संकेत गरेको छ ।

बाइडेन राष्ट्रपति हुँदा पनि उनको स्वास्थ्य अवस्थामाथि निरन्तर चासो र निगरानी हुँदै आएको थियो । विशेषगरी सन् २०२४ को जुनमा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पसँग भएको सार्वजनिक बहसमा उनको कमजोर प्रदर्शनपछि उनको स्वास्थ्यबारे व्यापक प्रश्न उठेका थिए ।

त्यसपछि आफ्नै दलका नेताहरूबाट राष्ट्रपतिको दौडबाट पछि हट्न दबाब बढेपछि बाइडेनले उम्मेदवारी त्यागेका थिए । त्यसपछि तत्कालीन उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् । सन् २०२४ को नोभेम्बरमा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले ह्यारिसलाई पराजित गरेका थिए ।

बाइडेनले सन् २०२१ देखि २०२५ सम्म अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । सन् २०२० मा राष्ट्रपति निर्वाचित हुँदा उनी अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति निर्वाचित हुने व्यक्ति बनेका थिए । त्यसअघि उनले सन् २००९ देखि २०१७ सम्म बराक ओबामाको उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

क्यान्सरसँग जुधिरहेका भए पनि बाइडेन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनले गत जुनमा शिकागोमा आयोजित बराक ओबामाको राष्ट्रपतीय पुस्तकालयको उद्घाटन कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।

बाइडेनको राष्ट्रपतीय कार्यकालसम्बन्धी संस्मरण नोभेम्बर १७ मा सार्वजनिक हुने तयारी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै