काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको र माइतीघरमा अझै नागरिकका गुनासा र प्रदर्शन देखिनु चिन्ताको विषय भएको बताएका हुन् ।
उनले भने- 'हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन ।’
लामिछानेले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए । चार महिनामै सबै परिवर्तन सम्भव नभए पनि नागरिकका अपेक्षा सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले युवा सांसद तथा मन्त्रीहरूलाई पदमा रमाउनेभन्दा जिम्मेवारी पूरा गर्न केन्द्रित हुन आग्रह गरे । अहिलेको पुस्ताले अवसरलाई सही ढंगले उपयोग गर्न नसके आगामी पुस्ताले पनि त्यस्तो अवसर नपाउने उनको चेतावनी थियो ।
विगतमा युवा नेतृत्वको अभाव भन्दै आफूहरूले उमेरका आधारमा अनुभवी पुस्ताको आलोचना र अपमानसमेत गरेको हुन सक्ने लामिछानेले स्वीकार गरे । अहिले ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको भन्दै उनले युवा नेतृत्व सरकारमा आउनु मात्रै वर्षौँदेखिको सपना पूरा हुनु नभएको बताए ।
लामिछानेले चुनावको परिणाम र प्रतिनिधिसभामा युवाको उपस्थितिलाई अब काम र परिणाममा रूपान्तरण गर्नुपर्ने चुनौती रहेको धारणा राखेका थिए ।









