• २०८३ असोज २७ मंगलबार

पाकिस्तानको खैबर पख्तुनख्वामा सङ्कटकाल: प्रान्तीय सरकार बर्खास्त, गभर्नर शासन लागू

पाकिस्तानको खैबर पख्तुनख्वामा सङ्कटकाल: प्रान्तीय सरकार बर्खास्त, गभर्नर शासन लागू

काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा खैबर पख्तुनख्वा प्रान्तमा सङ्कटकाल र गभर्नर शासन लागू गरेका छन् ।

बिग्रँदो सुरक्षा अवस्थालाई कारण देखाउँदै यो निर्णय गरिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।

पाकिस्तानको राष्ट्रपतिको सचिवालयका अनुसार संविधानको धारा २३२ र २३४ अन्तर्गत सङ्कटकाल घोषणा गरिएको हो । सङ्घीय सरकारले प्रान्तीय सरकारको आतङ्कवादविरुद्धको प्रयासप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको जनाएको छ । गभर्नर फैसल करिम कुन्दीले ११ सदस्यीय सल्लाहकार परिषद्को सहयोगमा शासन सञ्चालन गर्नेछन् । यो व्यवस्था प्रारम्भमा छ महिनाका लागि लागू हुनेछ ।

मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा अक्टोबर ४ देखि सुरु भएको विरोध मार्च र सरकार–विपक्षबीचको वार्ता असफल भएपछि राजनीतिक तनाव बढेको हो । विपक्षी दलले जेलमा रहेका पाकिस्तान तहरिक–ए–इन्साफका संस्थापक इमरान खानलाई भेट्न अनुमति दिनुपर्ने माग गरेको थियो ।

जमियत उलेमा–ए–इस्लामका प्रमुख मौलाना फजलुर रहमानले सङ्कटकाल र गभर्नर शासनलाई लोकतन्त्रमाथिको आक्रमण भन्दै विरोध गरेका छन् ।

यसैबीच, सङ्घीय सरकारले संविधानको धारा २४५ अन्तर्गत पाकिस्तानी सेनालाई पनि खैबर पख्तुनख्वामा परिचालन गर्ने निर्णय गरेको छ । सेनाले नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति र सरकारी संरचनाको संरक्षणमा प्रशासनलाई सहयोग गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै