• २०८३ कार्तिक १६ सोमबार

अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२६ को अक्टोबर महिनामा नेपालमा १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको अक्टोबरको तुलनामा पर्यटक आगमन ५०.५ प्रतिशतले बढेको छ ।

अक्टोबरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आबद्ध मुलुकबाट २४ हजार ५३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको १८.११ प्रतिशत हो । सार्क मुलुकमध्ये भारतबाट १२ हजार ९७, श्रीलङ्काबाट ५ हजार ५६०, बङ्गलादेशबाट ४ हजार ८९३, भुटानबाट १ हजार १०४, पाकिस्तानबाट ३५३, माल्दिभ्सबाट ४६ र अफगानिस्तानबाट ७ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक युरोपबाट आएका छन् । युरोपबाट ३९ हजार ८७७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट २७ हजार ४०, अमेरिकी महादेशबाट २१ हजार २७०, ओसियानियाबाट १० हजार १४३, मध्यपूर्वबाट २ हजार ३३५ र अफ्रिकाबाट ४२१ जना पर्यटक आएका छन् । अन्य क्षेत्रबाट ७ हजार ६७५ जना पर्यटक भित्रिएका छन् ।

कुल पर्यटक आगमनमा युरोपको हिस्सा ३०.०२ प्रतिशत, अन्य एसियाली मुलुकको २०.३६ प्रतिशत, सार्क क्षेत्रको १८.११ प्रतिशत र अमेरिकी महादेशको १६.०१ प्रतिशत रहेको छ।

सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा भने नेपालमा कुल १० लाख ८ हजार ६१६ जना विदेशी पर्यटक भित्रिएका छन् । यस अवधिमा सार्क मुलुकबाट मात्रै २ लाख ५५ हजार ४३६ जना पर्यटक आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै