• २०८३ कार्तिक १९ बिहीबार

कला परियोजनाका लागि एक लाखसम्म अनुदान, प्रस्ताव आह्वान

कला परियोजनाका लागि एक लाखसम्म अनुदान, प्रस्ताव आह्वान

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले साना तथा सिर्जनात्मक कला परियोजनालाई प्रोत्साहन गर्न कला सङ्घ–संस्थासँग प्रस्ताव माग गरेको छ ।

प्रतिष्ठानले ‘पकेट आर्ट प्रोजेक्ट कोल्याबोरेसन’ कार्यक्रममार्फत प्रस्ताव आह्वान गरेको हो। कार्यक्रमअन्तर्गत छनोट हुने परियोजनाले न्यूनतम २५ हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म अनुदान पाउनेछन्। यस चरणमा बढीमा चारवटा परियोजना छनोट गरिनेछ ।

प्रतिष्ठानले प्रतिस्थापन कला, छायाचित्रकला, दृश्य कला, अङ्कीय कला, प्रदर्शन कला, सार्वजनिक कला तथा अन्य समकालीन प्रयोगात्मक कलासम्बन्धी परियोजनाका लागि प्रस्ताव माग गरेको छ। नेपालमा कानुनी रूपमा दर्ता भएका कला सङ्घ–संस्थाले मात्रै आवेदन दिन पाउनेछन् ।

आवेदनसँग संस्थाको परिचय, परियोजनाको अवधारणा, अनुमानित बजेट, दर्ता प्रमाणपत्र र आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, प्रतिनिधिको हस्ताक्षरसहित सम्पर्क नम्बर र इमेल ठेगाना पनि उल्लेख गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

प्राप्त प्रस्तावको मूल्याङ्कन मौलिकता, सिर्जनशीलता, कलात्मक सान्दर्भिकता, कार्यान्वयनको सम्भाव्यता र समुदायमा पार्ने प्रभावका आधारमा गरिनेछ । प्रस्ताव पेस गर्ने अन्तिम मिति मङ्सिर १४ गते तोकिएको छ । इच्छुक संस्थाले विस्तृत जानकारीका लागि प्रतिष्ठानको आधिकारिक वेबसाइट वा नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै