काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोसँग भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज दिउँसो भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद दिएका थिए । साथै, बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग गर्ने जापानको तत्परताप्रति पनि आभार व्यक्त गरेका थिए ।
जापानी विदेश मामिला उपमन्त्री फुजी दुईदिने नेपाल भ्रमणमा छन् । उनी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौं महानगरपालिका र काठमाडौंस्थित जापानी दूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन नेपाल आएका हुन् ।









