काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ को अवसरमा टर्कीको अन्टाल्यामा भएको भेटवार्तामा मन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि महासचिव गुटेरेसले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए ।
उनले संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गुटेरेसले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बहुपक्षीय सहकार्य, विश्व शान्ति, मानव मर्यादा र दिगो विकासलाई अघि बढाउन उनको प्रतिबद्धताको सराहना गरेका थिए ।
भेटमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख मुलुकका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
दुवै पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुविपद् पूर्वसूचना प्रणाली, जलवायु वित्तको विस्तार र जलवायु कार्यबारे पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।








