• २०८१ बैशाख २० बिहीबार

आयल निगमको मासिक घाटामा वृद्धि, पेट्रोलियम पदार्थको खपत पनि बढ्यो 

kharibot

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ । 

गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । सेप्टेम्बर १ मा आइओसीबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार समग्रमा निगमलाई १५ दिनमा करीब रु ३१ करोड ५९ लाख घाटा हुने देखिन्छ । 

अमेरिकी डलरसँग नेपाली मुद्राको लगातारको अवमूल्यनले गर्दा शतप्रतिशत आयात मात्र गर्ने निगमको घाटा ह्वात्तै बढ्ने भएको हो । कच्चा तेलको प्रतिब्यारेल मूल्य एक अमेरिकी डलर बढ्दा निगमलाई करीब रु १७ करोड अतिरिक्त भार पर्ने गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । अमेरिकी डलरको सटही दरमा एक रुपैयाँ बढ्दा पनि निगमलाई मासिक रु १५ करोड थप भार पर्छ । 

केही दिन अघिको कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा करीब १० प्रतिशतले वृद्धि भई हाल कच्च तेलको मूल्य ७७ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ । 

खपत बढ्यो 

पछिल्ला दिनमा पेट्रोलियम पदार्थको खपत बढेको छ । सवारी सधानको संख्या वृद्धि, ग्रामीण भेकसम्म पनि एलपी ग्यासको प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको निगमले जनाएको छ । गत आवमा पेट्रोलियम पदार्थको खपत करीब २० प्रतिशतले बढेसँगै निगमको घाटा पनि बढेको हो । 

आव २०७३-०७४ मा चार लाख दुई हजार २७८ किलोलिटर पेट्रोल खपत भएकामा गत आव २०७४-०७५ मा चार लाख ८४ हजार ७८१ किलोलिटर पेट्रोल खपत भएको निगमले जनाएको छ । त्यस्तै अघिल्लो आवमा १२ लाख ९७ हजार ६६ किलोलिटर डिजेल खपत भएकामा गत आवमा खपत बढेर १५ लाख ९७ हजार ५५१ किलोलिटर पुगेको छ । 

अन्य पेट्रोलियम पदार्थको तुलनामा मट्टितेलको खपत कम भएको छ । अघिल्लो आवमा १९ हजार ४५९ किलोलिटर मट्टितेल खपत भएकामा गत आवमा २२ हजार ३११ किलोलिटर खपत भएको निगमले जनाएको छ । हवाई इन्धनको खपत अघिल्लो आवमा एक लाख ६४ हजार २९९ किलोलिटर भएकामा गत आवमा एक लाख ९४ हजार ३५८ किलोलिटर खपत भएको निगमले जनाएको छ । 

त्यस्तै अघिल्लो आवमा तीन लाख १२ हजार ९२८ मेट्रिकटन एलपी ग्यास खपत भएको छ भने गत आवमा खपत बढेर तीन लाख ७० हजार ५६० मेट्रिकटन पुगेको छ । 

सुधारको प्रयास जारी 

निगमका कामु प्रबन्ध निर्देशक भट्टराईले बढ्दो घाटालाई व्यवस्थापन गरी निगमको आर्थिक अवस्था सुधारको प्रयास जारी रहेको बताए । निगमको गिरेको शाख माथि उठाउन व्यवस्थापन लागि परेको उनको भनाइ छ । पेट्रोलियम पदार्थको हाहाकार हुने अवस्था आउन नदिनका लागि ९० दिनको पेट्रोलियम पदार्थको प्रादेशिक भण्डारण क्षमता विकास गर्ने कार्य भइरहेको उनले जानकारी दिए । 

ढुवानीको क्रममा इन्धन चुहावटको गुनासोलाई अन्त्य गर्न ट्याङ्कर ‘लकिङ’ प्रणालीलाई उच्च प्राथमिकता दिइएको काम प्रबन्ध निर्देशक भट्टराईले बताए ।  ट्याङ्कर लकिङ प्रणालीले निगमको प्राविधिक नोक्सानीमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले ट्याङ्कर चालक, ढुवानी कर्ता तथा निगमका कर्मचारीसमेतलाई लाग्ने तेल अपचलनको आक्षेपबाट छुटाकारा मिलेको बताए । ट्याङ्कर लकिङ प्रणालीलाई कार्यान्वयनमा ल्याइएसँगै निगमलाई वार्षिक करीब रु ६०÷७० करोड बचत हुने भट्टराईले बताए । त्यस्तै कम्पनीको चुक्ता पुँजी वृद्धि गरी रु २९ करोडबाट रु ११ अर्ब पुर्याइएको उनको भनाइ थियो । 

एलपी ग्यासको घरेलु र व्यावसायिक खपतलाई व्यवस्थित गर्न निगमले दुई रङको सिलिण्डर प्रयोगलाई लागू गर्ने तयारी गरेको छ । सरकारले जारी गरेको रातो र निलो रङको सिलिण्डर प्रयोगको कार्यविधिलाई पुनः अध्ययन गरी सरोकारवाला पक्षसँगको आवश्यक छलफलबाट कार्यान्वयनमा ल्याइने कामु प्रबन्ध निर्देशक भट्टराईले बताए । उनले भने, “व्यावसायिक र घरायसी ग्यास खपतको परिणामको अध्ययन गरेर दुई रङको सिलिण्डर गर्नुपर्ने अवस्थालाई कार्यान्वयन गरिने छ ।” 

निगमले २०७१ असोजदेखि ‘पेट्रोलिय पदार्थको स्वचालित मूल्य प्रणाली’ अनुरुप इन्डियन आलयल कर्पोरेशनबाट प्राप्त हुने मूल्यअनुसार प्रत्येक महिनाको १५-१५ दिनमा पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्दै आएको छ । निगमले गत असार मसान्तसम्म २० पटक पेट्रोलिय पदार्थको मूल्य घटाएको छ भने १५ पटक मूल्यवृद्धि गरेको छ । 

निगमले पेट्रोलियम पदार्थको बिक्रीबाट प्रतिलिटर ६० पैसा सञ्चालन खर्च उठाउँदै आएको छ भने सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लिँदै आएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ११ पैसा, डिजेलमा २ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ३३१ रुपैयाँ ९१ पैसा घाटा व्यहोर्दै आएको छ । 

हाल नेपाल (वीरगन्ज) र भारत (रक्सौल) सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ ७७ पैसा र डिजेल प्रतिलिटर रु २८ रुपैपाँ ५० पैसा नेपालतर्फ सस्तो रहेकाले आपूर्ति व्यवस्थामा चुनौति देखिएको प्रवक्ता गोइतले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै