• २०८१ बैशाख १६ आइतबार

छोरीको हत्या भएको भन्दै सर्वेन्द्र खनालको पाउ परिन् सञ्जरिया

kharibot

बारा । सन्जरिया देवीले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँग न्याय मागेकी छन् । भदौ १३ गतेका दिन मृत अवस्थामा भेटेकी छोरी अन्तिमाको मृत्यु नभई हत्या गरिएको र बारा प्रहरीले न्याय दिन नसकेको भन्दै मृतक अन्तिमाकी आमा सञ्जरियाले प्रहरी महानिरीक्षक खनालसमक्ष न्यायको अपिल गरेकी हुन् । 

मृत अवस्थामा भेटिएकी छोरी अन्तिमाको हात काटेको, चुरा फुटेको र शरीरको अन्य भागमा पनि चोटपटक देखिएको बताउँदै आमा सञ्जरिया देवीले जिल्ला प्रहरी कार्यालय कलैया बाराको नवनिर्मित ब्यारेक तथा हिरासत भवनको उद्घाटनमा आएका प्रहरी महानिरीक्षक खनालसँग न्यायको माग गर्दै उनको पाउ पर्न बाध्य भइन् । 

छोरीको मृत्यु शंकास्पद रहे पनि बारा प्रहरीले सही तरिकाले छानबिन नगरेको उनको आरोप छ । विवाहपश्चात् दाइजोको बहानामा छोरीलाई पटक–पटक यातना दिने गरेको आमा सञ्जरियाले बताइन् । अन्तिमाको भदौ १३ गतेका दिन बिहान झुन्डिएको अवस्थामा शव फेला परेको थियो । 

करिब ६ वर्षपहिले परवानीपुर गाँउपालिका वडा नम्बर ५ मा बस्ने नरसिंह राउत कुर्मीका छोरा सन्तोष राउत कुर्मिसित बहिनी अन्तिमाको समाजिक रीतिरिवाज अनुसार विवाह गराएको मृतकका दाजु जगत नारयण प्रसाद कुर्मीले बताए । 

विश्रामपुर गाँउपालिका वडा नम्बर ५ निवासी जगतले आफूहरुले न्याय पाउन छानबिनका लागि दिन खोजेको उजुरी समेत प्रहरीले दर्ता गर्न नमानेको र कहिले पोष्ट मार्टम रिपोर्ट नआएको त कहिल्यै आत्महत्या गरेको भनेर बारा प्रहरीले आफूहरुलाई गुमराह बनाउँदै आएको जगतको आरोप छ । 

जगत आफ्ना बहिनीको ससुराल पक्षले हत्या गरी मारेको आरोपप्रति आफूलाई शंका लागेको र त्यसको छानबिन गर्न प्रहरीले नमानेको प्रति चिन्तित छन् । आफ्नो बहिनीले छोरा नजन्माएको भन्दै उनीहरुले यातना दिने गरेको दाजु जगतको भनाइ छ । 

यता बाराका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठोरले नयाँ कानुनअनुसार विना प्रमाण कसैलाई पक्राउ गर्न नमिल्ने भएको कारण आफूहरुले त्यस विषयमा अनुसन्धान गरिरहेको बताए । 

उनले पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको बताउँदै माइती पक्षले दिएको निवेदन पनि प्रहरीले दर्ता गरेको दाबी गरे । प्रहरीले हत्या गर्न बाध्य बनाएको भए पनि त्यसै अनुसारको कारवाही गर्ने गरी काम गरिरहेको बताए ।

आर्थिक वर्ष २०७४\७५ मा बारामा ६० जना महिलाले आत्महत्या गरेका छन् भने ७ सय ८ जना घरेलु हिंसा र ७ सय १४ जना समाजिक हिंसाको शिकार हुनु परेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याड्ढमा जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय