• २०८१ बैशाख १८ मंगलबार

दम्पती हत्या घटना : अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस

kharibot

पर्वत।  जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । 

सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।

घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयको ओइरो नै लागेको थियो । 

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।  

वृद्ध दम्पतीलाई हत्या नै गर्नुपर्ने कुनै कारण नदेखिएको स्थानीय लालबहादुर अधिकारीले बताए ।

अकल्पनीय र सुन्नै नसकिने घटनाले गाउँ नै शोकमग्न बनेको उनको भनाइ छ । दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषी पक्राउ पर्न सकेका छैनन् । 

नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली अहिले पनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ ।

आफन्त वा शङ्कास्पद व्यक्तिलाई शोधपुछ गर्ने, बयान लिने र अन्य प्राविधिक कोणबाट अनुसन्धान कार्य जारी रहेको जिल्लाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।  

जिसी दम्पतीलाई लुटेराले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गर्नेजस्ता घटनाले लुटेरा समूहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ । 

जिसी परिवारले एक सातापछि कास्कीको पोखरामा जग्गा किन्ने तयारीसमेत गरेको खुलेको छ । जग्गा खरिदका लागि रकम जुटाइरहेको र त्यही रकम लुट्ने उदेश्यले दम्पतीको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।

दम्पतीको हत्या सम्पत्ति लुट्ने उद्देश्यले भएको निष्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गरेको हो भन्ने विषयमा पाँच दिनसम्म पनि पत्ता लगाउन समस्या देखिएको छ । 

जिसी परिवारका बारेमा पहिचान भएकै व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भुसालले बताए । 

जलजला–२ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले मृतक दम्पतीले यही महिना पोखरामा जग्गा किन्न लागेको जानकारी दिए ।

वडाध्यक्ष जिसीका अनुसार पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी गरेको थाहा पाएर रकम लुट्नका लागि हत्या गरेको हुनसक्छ । 

उनीहरुले स्थानीय साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख, रोक्का भएको जग्गाबाट रु पाँच लाख ऋण लिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने योजना बनाएको जनाइएको छ । 

त्यसैगरी मल्लाज बहुद्देश्यीय सहकारी संस्थाबाट यही चैत २७ गते रु १० लाख लिने तयारी रहेको स्थानीयले बताएका छन् । 

उनिहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शङ्कामा लुटपाट गरेको र त्यस क्रममा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै