मुम्बई। बलिवुडमा अभिनेत्री तनुश्री दत्ता र नाना पाटेकरको विवाद अब अदालतमा पुगेको छ। आफुलाई यौन शोषण गरेको आरोप लगाएकी अभिनेत्री तनुश्री दत्तालाई अभिनेता नाना पाटेकरले कानुनी कारवाही अगाडी बढाएका छन्। भारतीय मिडिया नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन्।
उनका वकिलले सो कुराको पुष्टि गर्दै तनुश्रीलाई माफी माग्नका लागि लिगल नोटिस पठाएको बताएका छन्। नानाका वकिल राजेन्द्र शिरोड़करले नोटिस पठाएको बताउदै आजै सो नोटिस तनुश्रीले पाउने बताएका छन्। नोटिसमा नानाको इमेज बिगार्न यस्तो गरेकोमा माफी भाग्न भनिएको उनले बताए।
हाल हाउसफुल ४ को सुटिंगमा व्यस्त नानाले मुम्बई फर्केपछि पत्रकार सम्मेलन गर्ने बताएका छन्।
२००८ को घटनालाई लिएर अभिनेत्री तनुश्री दत्ताले पछिल्लो केहि सातादेखि मिडियामा एक पछि अर्को अन्तर्वार्ता दिदै नाना पाटेकरको विरुद्ध मोर्चाबन्दी गरिरहेकी छन्। आफुलाई यौन शोषण भएको र बलिवुडमा अन्य कलाकार, निर्देशक तथा निर्माताले यसको विरुद्ध आवाज नउठाएको आरोप उनले लगाएकी छन्। उनले नानाले अभिनेत्रीमाथि दुर्व्यबहार गर्ने कुरा सबैलाई थाहा भएपनि कसैले आवाज नउठाएको आरोप लगाउदै आएकी छन्।
तनुश्रीले भने आफुले अहिलेसम्म कुनै लिगल नोटिस नपाएको बताएकी छन्। अभिनेत्री दत्ताले नानाका अलावा कोरियोग्राफर गणेश आचार्य तथा फिल्मका निर्देशक विवेक अग्निहोत्रीलाई पनि यौन शोषण गरेको आरोप लगाएकी छन्।









