काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड टावरमा पाकिस्तानी सरसामानको मेला सुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइएको छ ।
बुधबारबाट सुरु भएको मेला पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य संघले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरिएको हो । मेलाको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल पाकिस्तानमैत्री संगठनका अध्यक्ष हिमालय शम्शेर जबराले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रदर्शनीमा पाकिस्तानमा निर्माण गरिएका लत्ताकपडादेखि सम्पूर्ण सरसामानहरु पाइने बताइएको छ । भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहे पनि दुई देशबीच व्यापारी सम्बन्धले अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
१७ गतेबाट सुरु भएको मेला आगामी २३ गतेसम्म चल्नेछ ।
तस्बिरमा हेर्नुहोस् मेला -
तस्बिर : कविता घिमिरे/खरीबोट