• २०८१ बैशाख १७ सोमबार

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभानो नियुक्त

kharibot

अमेरिका । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त भएका छन् । अमेरिकी संसदमा भएको मतदानमा क्याभानोको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।

न्यायाधीश क्याभानोको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानोको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

न्यायाधीश क्याभानोले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसदको न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएका थिए । तर क्याभानोले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका थिए ।

सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानोमाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो ।

न्यायाधीश क्याभानोको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानोलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गरेका थिए । उनले क्याभानो एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पले क्याभानोको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दै “यो अमेरिकी जनताको जीत भएको” बताए ।

अनुदारवादी भनेर चिनिएका क्याभानोको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरु आजीवन सो पदमा रहन पाउँछन् ।

न्यायाधीश क्याभानोको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षा समेत गरिएको छ ।

केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गरे । तर डेमोक्रेटिक पार्टीका नेता चुक शुमरले न्यूयोर्कमा भने, “जनताले परिवर्तन चाहेका छन्, र त्यो मतदानका दिन देखिने छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै