• २०८१ बैशाख १७ सोमबार

मेलम्चीले समय मागेपछि रोकियो कालोपत्र

kharibot

फाइल तस्बीर

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ । 

धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो । 

कालोपत्र गर्ने वित्तिकै सडक खन्नुपर्ने अवस्था आएकाले आवश्यक समन्वय गरिएको आयोजनाले जनाएको छ । सोल्टीमोड–कलंकी खण्डमा दशैं अगावै कालोपत्र सम्पन्न गर्ने तयारी भएको भएपनि मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन सो सडक खण्ड थप खन्नुपर्ने भन्ने स्वीकृतिका लागि अनुरोध गरेको जनाएको छ । 

राजधानीको बढी चहलपहल हुने र बढी सवारी चाप भएको सडक कालोपत्रे नहुँदा स्थानीयाबासी र यात्रु सबैभन्दा बढी मारमा परेका छन् । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले शनिबार सूचना जारी गरेर सो सडकखण्डको कालोपत्र गर्ने कार्य केही पछि सर्ने जनाएको हो । 

काठमाडौँ महानगरपालिका वडा नं १४, स्थानीय उपभोक्ताले समेत पाइपलाई बिच्छ्याएपछि मात्रै सडक कालोपत्रे गर्न आग्रह गरेको सूचनामा उल्लेख छ । 

आयोजना कार्यान्वयन निर्देशनालयले आगामी कात्तिक ८ गतेदेखि मात्रै खानेपानीको पाइपलाइन बिछ्याउने कार्यतालिका बनाएको छ । सडकलाई यथास्थितीमा ल्याइसकेपछि मात्र आयोजनाले कालोपत्रे गर्ने जनाएको छ । राजधानीका निर्माणाधिन सडकको साझा समस्याको रुपमा निर्माण व्यवसायीको कार्यशैली नै देखिएको छ । 

वर्षौसम्म काम नगर्ने निर्माण व्यवसायीको कार्यशैलीका कारण सडक विस्तार एवम् मर्मत कार्य समस्यामा पर्ने गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले पोल नसार्दा समस्यामा पर्ने गरेको छ । 

मेलम्ची खानेपानी आयोजनाको राजधानीका केही स्थानमा पाइप बिच्छ्याउने कार्यलाई तिव्रता दिएको छ । उता कलंकी–नागढुंगा सडक खण्डमा भने सामान्य मर्मतको काम भएपनि कालोपत्रको काम भने तिव्र रुपमा अगाडि बढ्न सकेको छैन । 

उता बौद्ध–जोरपाटी सडकखण्डको कालोपत्रको काम पनि अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सो सडक खण्डको मर्मतमा ध्यान दिन निर्देशन दिनु भएपनि निर्माण हुन सकेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै