• २०८१ बैशाख १७ सोमबार

त्रिपिटक वाचनबाट बुद्धधर्मको प्रसारमा योगदान

kharibot

काठमाडौँ। धर्मकृति विहारका प्रमुख बौद्धविद्वान धम्मावती गुरुमाँले लुम्बिनीमा शुरु भएको त्रिपिटक वाचनले बुद्धदर्शन प्रसारमा गहकिलो योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।

धर्मकृति विहारमा कुरा गर्दै बौद्धधर्मका शीर्ष व्यक्तित्व गुरुमाँले भगवान् बुद्धले २६०० वर्षअघि दिएको शान्तिको सन्देश आजको युगमा अतिमहत्वपूर्ण रहेको बताउँदै बुद्ध दर्शनबाट नै स्वदेश तथा विदेशमा शान्तिप्राप्ति गर्न सघाउ पुग्ने अपेक्षा गरेकी छन् । 

विसं २००४ अघि आफू पहिलो पटक बुद्धधर्ममा प्रवेश गरेको अवस्थाभन्दा अहिले मुलुकमा अशान्ति बढिरहेको भन्दै उनले मानिसमा दयामाया निरन्तर घट्दै गएकाले नयाँ युवा पुुस्तालाई बुद्धधर्मको शिक्षा दिनु जरुरी रहेको उल्लेख गरीन्  । 

गुरुमाँ धम्मावतीले थपिन, “नेपालको विद्यालयमा शिशु कक्षादेखि नै बुद्ध र शान्तिको महत्वबारे विद्यार्जन गर्ने अवसर दिन पाठ्यक्रममा बौद्धधर्मसम्बन्धी विषय समावेश गर्नुपर्छ ।” विसं १९९० मा पाटनको रुद्रवर्ण महाविहारमा जन्मिएकी बौद्धविद्वान् धम्मावती गुरुमाँले बुद्धधर्मको ज्ञान आर्जन गर्न तथा त्रिपिटक पढ्ने धोको पूरा गर्न हालको म्यान्मार पुगेर १४ वर्षसम्म अविच्छिन्न ज्ञान आर्जन गरेकी हुन् । 

तीन थैलाको सङ्ग्रहालय : त्रिपिटक 

गुरुमाँ धम्मावतीले भनिन, “भगवान् बुुद्धले भारतको बुद्धगयामा बुद्धत्व प्राप्त गरेपछि हासिल गरेको ज्ञानलाई गौतमबुद्धको महापरिनिर्वाणपछिका दिनमा विभिन्न सघायनमार्फत एक सूत्रमा सङ्ग्रह गरिएको थियो । त्रि–अर्थात् तीन वटा थैला–अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रहालयलाई नै त्रिपिटक भनिन्छ । 

यसमा भगवान् बुद्धले दिएको पूर्वजन्मको कथासङ्ग्रह, भिक्षु सङ्घमा रहँदा पालन गर्नुपर्ने शील तथा मानिसको चित्त शुद्धका विषयमा गहन व्याख्या गरिएको छ । भगवान् बुद्धले देवलोकमा गएर आफ्ना आमा रानी मायादेवीलाई तीन महीनासम्म अभिधम्मका विषयमा धर्मोपदेश दिनुभएको बौद्धविद्वान धम्मावती गुरुमाँले जानकारी दिईन । 

उनका अनुसार भगवान् बुद्धले ४५ वर्षसम्म नेपाल, भारत, श्रीलङ्कासहित थुप्रै मुलुकमा बुद्धधर्मको प्रचारप्रसारका क्रममा धर्मोपदेश दिएका थिए । त्रिपिटकमा ८४ हजार स्कन्द रहेको र त्यसको थोरै अंशमात्रै लुम्बिनीमा वाचन गरिनेछ । 

बुद्धको जन्मस्थान नेपालमा पनि धेरै मानिसलाई बुद्धका बारेमा सामान्य ज्ञान भए पनि त्रिपिटकका बारेमा अनभिज्ञ छन् । लुम्बिनीमा आजदेखि तीनदिनसम्म हुने त्रिपिटक वाचन बुद्धधर्मको प्रचारप्रसारका लागि धेरै महत्वपूर्ण छ । यही कात्तिक ३० गतेसम्म हुने त्रिपिटक वाचनमा विभिन्न १८ देशका बौद्धविद्वानको सहभागिता हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै