• २०८१ बैशाख १७ सोमबार

के हो माइग्रेन्ट क्याराभान ? (भिडियो रिपोर्ट) 

kharibot

काठमाडौँ। नोभेम्बर ६ को मध्यावधि चुनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा 'सीएनएन'का ह्वाइट हाउस संवाददाता जीम एकोस्टाले प्रवासीहरूको क्याराभानसम्बन्धी प्रश्न गरेपछि ट्रम्प एकाएक आक्रोशित भएका थिए र एकोस्टाको माइक नै खोसेर उनलाई चुप लगाएका थिए ।

ट्रम्पले उक्त 'क्याराभान'लाई अमेरिकामाथिको 'इन्भेजन'को संज्ञा दिएकोमा आप्रवासीहरूको समूह सयौं किलोमिटर पर भएकाले अतिक्रमण भन्न नमिल्ने एकोस्टाले टिप्पणी गरेका थिए । जवाफमा ट्रम्पले ‘म त्यसलाई आक्रमण नै मान्छु । तपाईं र मेरो धारणामा भिन्नता रहेछ’ भने । त्यसपछि एकोस्टालाई उनको माइक खोस्न अघि सर्ने ह्वाइटहाउसकी प्रतिनिधिमाथि दुर्व्यवहारको आरोप लाउँदै ह्वाइटहाउसले एकाएक एकोस्टालाई प्रतिबन्ध समेत लगायो जसलाई लिएर 'सीएनएन'ले अहिले अमेरिकी राष्ट्रपतिमाथि मुद्दा नै दर्ता गराएको छ । पछिल्लो घटनाक्रम अनुसार अदालतको आदेश अनुसार ह्वाइट हाउसले 'सीएनएन'का ह्वाइट हाउस संवाददाता जीम एकोस्टाको प्रेस पास फिर्ता गरेको छ। 

कसरी सुरु भयो क्याराभान?

होन्डुरसको सान पेर्डो सुला सहरबाट १६० जनाबाट सुरु भएको प्रवासीहरूको 'क्याराभान' यतिखेर मेक्सिकोको राजधानीबाट अमेरिकाको सीमातर्पm प्रस्थान गर्दै गर्दा करिब ४ हजारभन्दा बढी प्रवासीहरू जम्मा भइसकेका छन् । यस क्याराभानमा मध्यअमेरिकी मुलुक ग्वाटेमाला, होन्डुरस, एल सालभाडोर र निकारागुवाका नागरिकहरू रहेका छन् । यी  मानिसहरू आफ्नो देशमा व्याप्त गरिबी, हिंसा र उत्पीडनबाट भागेर सुरक्षित जीवनको खोजी गर्दै अमेरिकामा शरण लिन हिडेका हुन् । क्याराभान बनाएर हिँड्नुको मुख्य कारण लुटेरा, मानवतस्कर र विभिन्न आपराधिक गिरोहबाट बच्नु हो । ठूलो भीडमा एक अर्काको सुरक्षा हुने भएकाले असुरक्षित मानिएको मेक्सिको र यसको आसपासको क्षेत्रमा भीडले सुरक्षाको आश्वासन दिने गर्दछ । क्याराभानलाई मेक्सिकोका स्थानीय, नागरिक समाज तथा चर्चले खाने कुरा, पानी र आश्रय दिएर सहयोग गरिरहेका छन् । क्याराभान मेक्सिको-ग्वाटेमाला बोर्डर हुदै मेक्सिको-अमेरिका बोर्डरतर्फ आउदै छ । 

यसअघि पनि मध्यअमेरिकी देशहरूबाट मानिसहरूको क्याराभान मेक्सिको र अमेरिकातर्फ आाउने गर्दथ्यो । सन् २०१० देखि नै अनौपचारिक रुपमा सानाखाले क्याराभानहरू मध्यअमेरिकी मुलुकहरूबाट मेक्सिको तथा अमेरिकातर्फ आउने गर्दथे । मध्यअमेरिकी मुलुकहरूबाट वर्षेनी पाँच लाख मानिसहरू हिंसाबाट बच्न आफ्नो घरबार छोड्न बाध्य छन् । धेरैले मेक्सिकोमै शरण लिन निवेदन दिए पनि अहिले मेक्सिको नै आपराधिक गतिविधिको कारणले असुरक्षित बन्दै गएकाले उनीहरू अमेरिकाको शरणमा जान बाध्य भएका हुन् । अमेरिकामा भविष्य सुरक्षित र समृद्ध हुने भएकाले पनि उनीहरू आकर्षित भएको देखिन्छ ।

किन आउँछन् अमेरिकामा ठुलो संख्यामा प्रवासीहरू ?

यसरी हजारौँ मानिसहरू अफ्नो घर छोडेर अमेरिकमा शरणमा आउनुको प्रमुख कारण मध्यअमेरिकी देशहरूको विषम परिस्थिति हो । विभिन्न आपराधिक ग्याङहरूका कारणले हुने हत्या, अपहरण, बलात्कार अहिले मध्यअमेरिकी देशहरूमा सामान्य बन्दै गइरहेको छ । खासगरी आपराधिक ग्याङहरूबाट हुने संगठित अपराध यस क्षेत्रको प्रमुख समस्या हो । एल सालभाडोर, ग्वाटेमाला र होन्डुरसमा मात्र यस्ता ग्याङहरूमा    संलग्न हुनेको सङ्ख्या ५० हजारभन्दा धेरै छ । सन् २०१२ मा एल सालभाडोरमा सरकारले नै हस्तक्षेप गरी दुई विरोधी ग्याङहरूबीच सम्झौता गराउनुपरेको थियो । विश्वको ८ प्रतिशत मानिस बसोबास गर्ने यस क्षेत्रमा विश्वको ३३ प्रतिशत हत्याका घटना हुने गर्छन् । सन् २००० पछि ल्याटिन अमेरिकी क्षेत्रमा करिब २५ लाख मानिसहरूले ग्यांगहरू संलग्न प्रायोजित हत्याका घटनामा ज्यान गुमाइसकेका छन् । विश्वको सबैभन्दा बढी हत्या हुने २० वटा राष्ट्रहरूमध्ये १७ वटा यही क्षेत्रमा पर्छन् । एल सालभाडोरलाई त 'मर्डर क्यापिटल अफ द वर्ल्ड' नै भनिन्छ ।

मध्यअमेरिकी आपराधिक ग्याङहरूको उत्पत्ति भने लस एन्जल्सका गल्लीहरूमा भएको थियो। असीको दशकमा आफ्नो देशमा व्याप्त हिंसाबाट भागेर ठूलो सङ्ख्यामा अमेरिका छिरेका युवाहरू समाजमा समायोजन हुन नसक्दा लस एन्जल्सका आपराधिक ग्याङहरूमा छिरेका थिए । रोनाल्ड रेगनको प्रशासनले मध्यअमेरिकाबाट आएका आप्रवासीहरूलाई शरणार्थीको मान्यता दिन अस्वीकार गर्दा उनीहरू लुकीछिपी बस्न बाध्य भए । तर अमेरिकी सुरक्षा निकायले उनीहरूलाई पक्राउ गरी घर फिर्ता पठायो । लस एन्जल्सका गल्लीहरूमा सिकेको 'ग्याङ कल्चर'लाई ती युवाहरूले आफ्ना देशमा निरन्तरता दिए । पहिल्यैदेखि हिंसा र अस्थिरताले गाँजेको समाजमा अमेरिकाबाट फर्केका युवाहरूको माध्यमद्वारा 'ग्याङ वार'को रुप लिन कत्ति पनि समय लागेन ।

क्याराभान र डोनाल्ड ट्रम्प

आप्रवासीको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार दिएका विवादास्पद टिप्पणीहरूका कारणले यतिखेर प्रवासीहरूको क्याराभान चर्चाको केन्द्रमा छ । क्याराभान अमेरिकी सीमातर्फ लागिरहँदा राष्ट्रपति ट्रम्प आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले क्याराभानमा ठूलो संख्यामा आपराधिक र आतङ्ककारी समूहको घुसपैठ रहेको दाबी गरिरहेका छन् । मध्यावधि चुनावमा ट्रम्पले यसलाई मुद्दाको रुपमा उठाउँदै डेमोक्र्याटहरूको आप्रवासीप्रति नरम व्यवहारले देशमा आपराधिक गतिविधिले प्रश्रय पाइरहेको आरोप लगाएका थिए । क्याराभानलाई अमेरिकामाथि प्रवासीहरूको आक्रमण भन्दै उनले त्यसलाई सैनिकबलले सामना गर्ने जनाएका छन् र सोहीअनुरुप अहिले ठूलो सङ्ख्यामा अमेरिकी सैनिकहरू सीमामा तैनाथ हुन थालिसकेका छन् । सीमा पार गर्ने स्थानहरूमा भने अमेरिकी सैनिकहरू काँडेतार र छेकबार लगाएर भीडको सामना गर्ने तयारी गरिरहेका छन् ।

ट्रम्पले शरणार्थीको लागि आवेदन दिने प्रवासीहरूलाई गिरफ्तार गरी अस्थायी क्याम्पमा राख्ने बताएका छन् । उनको प्रशासनले अमेरिकाको शरणार्थी प्रणाली  नै शरणार्थीका आवेदनले भरिसकेको कारण देखाउँदै अब नयाँ आवेदनहरूलाई रोक्न सक्ने वा सीमित पार्ने जनाएको छ । उनले सहीछाप गरेको आधिकारिक घोषणामै कानुनी रुपमा तोकिएका स्थानहरूबाट मात्र मानिसहरूलाई प्रवेश गर्न दिइने र गैरकानुनी रुपमा प्रवेश गर्नेलाई रोक लगाउने जनाइएको छ । तर विज्ञहरू भने अमेरिकाको आप्रवासीसम्बन्धी कानुनले जुनसुकै स्थानबाट प्रवेश गर्ने मानिसले शरणको लागि आवेदन दिनसक्ने अधिकार दिएकोले ट्रम्पको आदेश गैरकानुनी भएको बताउंछन् ।

अमेरिकी हस्तक्षेप र राजनैतिक अस्थिरताको इतिहास 

ल्याटिन तथा मध्यअमेरिकी देशहरूको वर्तमान अवस्था अमेरिकाको संलगनतामा भएका विभिन्न राजनैतिक 'कू' र सशस्त्र युद्धको परिणाम हो । दोस्रो विश्वयुद्धपछि शीतयुद्धको बेलामा कम्युनिष्टको प्रभावलाई निस्तेज पार्ने निहुँमा निकारागुवा, एल सालभाडोर र होन्डुरसजस्ता मध्यअमेरिकी देशहरू अमेरिकी विदेश नीतिको प्राथमिकतामा पर्दै गए । आफ्ना आर्थिक र राजनितिक स्वार्थ पूरा गर्न विभिन्न कठपुतली सरकारहरूद्वारा अमेरिकाले यी देशहरूमा हस्तक्षेप गरिरह्यो ।

निकारागुवामा ७०को दशकमा भएको राजनीतिक क्रान्तिको नेतृत्व गर्ने एफएलएसएन  को समाजवादी झुकावबाट डराएको रोनाल्ड रेगनको प्रशासनले कोंट्रास नामक दक्षिणपन्थी गुरिल्ला समूहको माध्यमद्वारा असी को दशकमा यस देशलाई प्रोक्सी युद्धको क्षेत्र बनायो । होन्डुरासको भूमि प्रयोग गरेर अमेरिकाले ठूलो मात्रामा हातहतियार निकारागुवा भित्रायो । यसले होन्डुरस र निकारागुवाको समाजलाई सैनिकीकरण गर्ने र राजनीतिक हत्या र दमनद्वारा हिंसालाई सामान्यीकरण गर्ने कार्य गर्यो । त्यसैगरी एल सालभाडोरको सैनिक शासनलाई वामपन्थी मिलिसियाहरूको गठबन्धन एफएमएलएनका विरुद्ध अमेरिकाले करिब ४ अर्बको सैनिक सहयोग गरेको थियो । ७०को दशकदेखि ९०को दशकसम्म चलेको एल सालभाडोरको गृहयुद्धमा करिब ९० हजार जनाले ज्यान गुमाए । ग्वाटेमालामा समेत सि.आइ.ए समर्थित राजनीतिक कूद्वारा प्रजातान्त्रिक चुनावबाट बनेको सत्तालाई अपदस्थ गरेपछि गृहयुद्ध चर्किएको थियो । बिसौँ शताब्दीको अन्त्यसम्म चलेको युद्धमा करिब २ लाख मानिसहरू मरेका थिए र यसरी छोटो समयसम्म चलेको ग्वाटेमालाको प्रजातान्त्रिक अभ्यासलाई त्यस पछिका कयौं सैनिक तानशाहि शासनले  विस्थापित गर्यो । 

बाह्य शक्तिको स्वार्थमा आर्थिक र राजनैतिक हस्तक्षेप भएपछि यी देशहरूमा हिंसा र अस्थिरताको बीजारोपण हुन पुग्यो । र ती देशका नागरिकका लागि आफ्नै भूमि बस्नयोग्य भएन । अमेरिकाको वैदेशिक नीतिले ध्वस्त पारेको आफ्नो देशबाट भागेर अहिले अमेरिकाकै शरणमा आइपुगेका प्रवासीहरूको क्याराभानलाई अमेरिकाका राष्ट्रपति भने आक्रमणको संज्ञा दिइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै