• २०८१ बैशाख १६ आइतबार

पर्यटक लोभ्याउँदै मकवानपुरगढी

kharibot

मकानपुर । शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेलले इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा खुशी लागेको बताए ।

रोजगारीका सिलसिलामा लामो समय कतारमा बसेका उनलाई स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा गरिसकेपछि आफूलाई उक्त गढी पनि हेर्न रहर जागेर आएको उनले उल्लेख गरे ।

दामनका सुशील भुजेलले पनि उक्त गढी अवलोकनका लागि आए । “जिल्लाकै बासिन्दा भए पनि यहाँ आउने मौका जुरेको थिएन”, भुजेलले भने, “सरकारले उक्त गढीलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्यो अब यहाँ पर्यटक भित्र्याउनेतर्फ लाग्नुपर्छ ।” नेपालको एकीकरणसँगै जोडिएको सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा तीनवटै तहका सरकारको उत्तिकै ध्यान पुग्नुपर्ने उनको सुझाव छ ।

मकवानपुरगढीमा अचेल पर्यटकको चाप बढ्न थालेको छ । बिदाका दिन हेटौँडाबजारबाट ‘रिफ्रेस’ हुन त्यहाँ पुग्नेहरुको भीडभाडको दृश्य कुनै मेलाको भन्दा कम देखिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कात्तिक १५ गते घोषणा गरेको मुलुकका सय पर्यटकीयस्थलमध्ये मै पर्दछ, मकवानपुरगढी । स्थानीयवासी उद्धव घिमिरेका अनुसार पछिल्लो समय गढी क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ । “पहिले आक्कलझुक्कल देखापर्थे आजभोलि अझ बिदाका दिनमा त मेलै लागेजस्तो हुन्छ” उनले भने ।

चीनको ‘ग्रेटवाल’को झल्को दिन्छ, गढीको प्रवेशद्वारले । यहाँ उभिएर फोटो र ‘सेल्फी’ खिच्नेहरुले झनै रौनक बढाइदिन्छन् । गढी क्षेत्रलाई ‘पिकनिक स्पट’का रुपमा विकास गरिएको छ । विभिन्न जिल्लाका स्कूल, कलेज, समूह र सहकारीका भ्रमणले गढीमा दिनहुँजसो आगन्तुकको ओइरो लाग्ने गर्दछ । व्यवस्थित अभिलेख नभए पनि सडक कालोपत्र तथा सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् ।

मकवानपुरगढी ऐतिहासिकस्थल भएकाले गाउँपालिकाको नाम पनि मकवानपुरगढी राखिएको हो ।साढे दुई सय वर्षअघि यही स्थानबाट अङ्गे्रजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास छ । मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । पक्की सडकका कारण पर्यटकलाई थप सहज भएको हो । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढी पनि हो । यहाँ अझै पनि पुराना दरबारसहित विभिन्न संरचना भग्नावशेषका रूपमा छन् । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको अध्ययनबाट देखिन्छ ।

विजय स्मारक

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले गुरुयोजना बनाएर गढी संरक्षण र प्रवद्र्वनमा आफूहरू जुटेको बताए । गढीलाई बृहत् विजय स्मारकका रूपमा अगाडि बढाउन लागिएको छ । दरबार, विजय पार्क, सानो गढी र ढुङ्गे गढीलाई जीर्णोद्धार गरी ‘विजय स्मारक’का रूपमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।

नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा माघ १० गते विजय उत्सव मनाइने भएको छ । विसं १८१९ माघ १० गते तत्कालीन अङ्ग्रेज फौजलाई नेपाली ९गोर्खाली० सेनाले पराजित गरेका थिए । तीन हजार सङ्ख्यामा रहेको अङ्ग्रेज फौजलाई मकवानपुरगढी दरबारको तल्लो भाग शिखरकटेरीबाट नेपाली सेनाले अगाडि बढ्न नदिएर पराजित गरेको इतिहास थियो । विजयीस्थल शिखरकटेरी किल्लादेखि ढुङ्गे गढीसम्म पदमार्ग निर्माण गर्ने र नेपाल–अङ्ग्रेज युद्ध तथा नेपालको एकीकरण इतिहास झल्किने बृहत् स्मारक बनाउने गाउँपालिकाको योजना छ ।

गढी क्षेत्रमा मुकुन्द सेनकी रानीले रानी चौतारो बनाउन लगाएकी थिइन् । उक्त चौतारो अझै पनि देख्न सकिन्छ । अध्यक्ष हुमागाईंले विजयी किल्लालाई ‘विजय पार्क’ बनाएर त्यहीँबाट पदमार्ग शुरु गरिने बताए । गढीको संरक्षण र स्मारक निर्माण गर्न चालू आवमा सङ्घीय सरकारले रू ८० लाख, प्रदेशले रू ५० लाख र स्थानीय सरकारले रू १५ लाख गरी रु एक करोड ४५ लाख बजेट विनियोजन गरिसकेका छन्  ।

गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गरेका थिए । चारैतिर अग्लो पर्खालले घेरेको सेनको दरबार थियो । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली हो । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय