काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार साताको चौथो कारोबार दिन आज बुधवार भने उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २२ दशमलव आठ अंकले घटेर ११ सय १८ दशमलव १९ विन्दुमा झर्दा सेन्सिटिभ पनि चार दशमलव ९१ अंकले घटेर दुई सय ३७ दशमलव ७८ विन्दुमा झरेको छ ।
एक सय ५६ कम्पनीहरुको चार हजार तीन ६८ वटा कारोबारमा ११ लाख ६८ हजार दुई सय ३३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३७ करोड ७२ लाख ८६ हजार दुई सय ७९ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा आज १० वटै समूहको कारोबार भएकोमा सबै सूचक घट्दा सेयर बजार पुरै रातो भएको छ । बाँणिज्य बैंक समूहको सूचक १५ दशमलव २२ अंकले घटेर नौ सय ८६ दशमलव एक विन्दुमा झर्दा २२ करोड ४० लाख १६ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
विकास बैंक समूहको सूचक पनि ३३ दशमलव ८८ अंकले घटेर १४ सय छ दशमलव ५५ विन्दुमा झर्दा पाँच करोड २६ लाख एक हजार दु्ई सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यसैगरी जलबिद्युत समूहको सूचक पनि २१ दशमलव चार अंकले घटेर ११ सय ५२ दशमलव ३८ विन्दुमा झर्दा ६९ लाख ५६ हजार ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि उच्च विन्दुले गिरावट आएको छ ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेको हाथ्वे फाईनान्सको सेयर मुल्य पाँच रुपैयाँ ७७ पैसाले बढेर एक सय १० रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको राधी जलबिद्युत कम्पनीको सेयर मुल्य छ रुपैयाँ ८९ पैसाले घटेर एक सय ६२ रुपैयाँमा कारोबार भएको छ ।
रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ९० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ५४ लाख १४ हजार नौ सय ७७ रुपैयाँको कारोबार भएको छ ।