• २०८१ बैशाख १७ सोमबार

पाँच सम्पदा पुनःनिर्माण अनिश्चित  

kharibot

काठमाडौँ। भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा स्थल पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । 

साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचनघाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको कुमारी घर पुनःनिर्माण कहिले हुने निश्चित नभएको हो । 

पाँचवटै सम्पदास्थलको प्रारम्भिक अध्ययनका लागि पुरातत्व विभागको स्वीकृतिमा गुठी संस्थानलाई जिम्मेवारी दिइएको थियो । संस्थानले रु १२ लाख खर्च गरेर परामर्शदाता नियुक्त गरी नक्सासमेत बनाइसकेको उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए । पुनःनिर्माणका लागि स्वीकृति नआउँदा ती सम्पदा अलपत्र बनेको उनको भनाइ थियो । 

रणमुक्तेश्वर पुनःनिर्माणका लागि रु १४ करोड ६२ लाख २४ हजार, महाङ्काल मन्दिरका लागि रु २८ लाख ३० हजार, जङ्गम मठका लागि रु रु १३ करोड ९२ लाख, जँग–हिरण्य–हेम–नारायण सत्तलका लागि रु १३ करोड र कुमारी घरका लागि रु सात करोड ६८ लाख लाग्ने अनुमान गरिएको थियो । 

संस्थानले बनाएको नक्सा विभागले पास गरेपनि पुनःनिर्माण र नियमित दुबै बजेटमा समावेश नगरेको उपप्रशासक पाण्डेले बताउनुभयो । बनाउने निश्चित नभएपछि सबै सम्पदा स्थलमा टेको लगाएर अड्याइएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर भने कुमारी घर पुनःनिर्माण गर्न संस्थानलाई स्वीकृति दिइएको बताउछन्।  

भक्तपुरको जङ्गम मठ भारत सरकारको अनुदानमा बन्ने सम्पदाको सूचीमा रहेको जानकारी पनि उहाँले दिनुभयो । महाङ्काल (शनिदेव) मन्दिर र सङ्कटा मन्दिर गुठियारले नै बनाउन प्रस्ताव गरेका छन् । महाङ्काल मन्दिर अघि मूल सडकबाट तीन वटा भ¥याङ राख्ने स्थानीयवासीको मागलाई स्वीकृति दिन नसकिने विभागले जनाएको छ । 

रणमुक्तेश्वर र जँग–हिरण्य–हेम–नारायण सत्तल आगामी आर्थिक वर्षमा पुनःनिर्माण गर्ने गरी कार्यक्रम बनाउन लागिएको विभागले जनाएको छ । संस्थानले परामर्शदाता नियुक्त गरेर गरेको कामको भुक्तानी विभागसँग माग नगरेको प्रवक्ता कुँवरले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै