• २०८१ बैशाख १७ सोमबार

सन्दीप ज्ञवालीका तीन कविता : म सहिद, यो जिन्दगी र सपना !

kharibot

सन्दीप ज्ञवाली

१. म सहिद

गोली चल्यो
घाइते भएँ
ए आमा !
म मरेर गएँ ।

मृत शरीर
चुरा फुट्यो,
ए पियारी !
सारा सपना टुट्यो ।

जल्यो लास
भए खरानी ,
ए मेररी माया ! 
खोसियो तिम्रो जवानी ।

फोटोमा हार
बाबु अनायासै,
ए छोराछोरी !
नरोउ न त्यसै ।

बनेँ सहिद
किताबी ज्ञान,
ए नेपाल आमा ! 
व्यर्थ गयो मेरो ज्यान।


२. यो जिन्दगी 

बाढीको खोलो बगेजस्तो वेगको वहाव छ यो जिन्दगी
भगवानको मायाले ठगेजस्तो ठूलो तनाव छ यो जिन्दगी
दुःखले आँशु मागेजस्तो पीडाको शैलाव छ यो जिन्दगी
रुखभरी हाँगा लागेजस्तो भारको फैलाव छ यो जिन्दगी।
मृतशरीर जागेजस्तो चमत्कारको तलाउ छ यो जिन्दगी
तर्सेको हरिण भागेजस्तो नथम्ने रक्तस्राव छ यो जिन्दगी
गमलामा सजाउन राखेजस्तो काँडाको गुलाब छ यो जिन्दगी
विष पिउँदा अमृत चाखेजस्तो भ्रमको मिलाप छ यो जिन्दगी


३. सपना

आज मैले एउटा सपना देख्दै थिएँ
जहाँ आफ्नो मृत्युको कथा आफै लेख्दै थिएँ
अधुरा जीवनका रहरहरु अधुरैमा मेट्दै थिएँ
संसार छाडी परलोकमा परमात्मा भेट्दै थिएँ,
पापले भरिएको ज्यान सन्तुष्टिमा मास्दै थिएँ
मुक्ति पाउने खुसिमा मज्जाले हास्दै थिएँ,
दृष्टि मधुरो हुँदै गर्दा आफुलाई छुदै थिएँ
सारा कुरा सपना पो रहेछन् भनी रुदै थिएँ

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै