• २०८१ बैशाख १७ सोमबार

बालबालिकालाई पनि हुन सक्छ क्यान्सर ?

kharibot

काठमाडौँ । हाल विश्वभर क्यान्सर रोगीको संख्या बढ्दो क्रममा छ । धूमपान, मद्यपान गर्ने र वृद्धवृद्धालाई मात्र क्यान्सर रोग लाग्छ भन्ने कतिपयको धारणा हुन सक्छ । तर, नेपालमा हरेक वर्ष करीब ११०० देखि १६०० बालबालिका क्यान्सरका शिकार बन्ने गरेको अनुमान छ । 

बालबालिकालाई हुने क्यान्सर वयस्कको भन्दा केही फरक हुन्छ । बालबालिकालाई क्यान्सरको उपचारको तरिका पनि फरक हुन्छ । क्यान्सर लागेका बालबालिकाको शरीरमा कोशिकाहरु अनियन्त्रित रुपमा बढ्न थाल्छन् । शरीरका अवयवको आकार सामान्यभन्दा फरक हुन्छ । यसले नजिकका कोशिकालाई पनि असर पुर्याउँछ भने अन्य अंगमा पनि क्यान्सर फैलिने सम्भावना रहन्छ । 

बच्चामा क्यान्सरका कोशिका बढ्न लागेसँगै शरीरमा न्युट्रिनको खपत पनि बढ्न लाग्छ । क्यान्सरले बच्चाको शारीरिक शक्ति तथा रोग प्रतिरोधक क्षमता घट्न थाल्छम । बालबालिकालाई क्यान्सर लागेमा ज्वरो आउने, घाँटीमा टनसिल हुने, रगतको कमी हुने जस्ता लक्षण देखिन थाल्छन् । 

क्यान्सरका प्रमुख कारण 
जीवनशैली 

]जसको जीवनशैली ठीक हुँदैन, तिनलाई क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । धूमपान, क्यालोरी धेरै भएको खाना, विषालु रसायनयुक्त खाना, विभिन्न हानिकारक रसायन, विकिरण आदि क्यान्सरका प्रमुख कारण हुन् । वयस्क मानिसलाई झैं बालबालिकालाई पनि गलत जीवनशैलीका कारण क्यान्सर लाग्न सक्छ । हाल कतिपय किशोरकिशोरीले सानै उमेरमा धूमपान, मद्यपान अथवा लागूपदार्थ सेवन गर्न थालेको पाइन्छ । यसले उनीहरुलाई प्राणघातक क्यान्सरको मुखमा पुर्याउन सक्छ । 

प्रतिरोधक क्षमता 

जुन मानिसमा रोग प्रतिरोधक क्षमता कम हुन्छ, तिनलाई कुनै पनि रोगले सजिलै आक्रमण गर्न सक्छ । तिनीहरु क्यान्सरको चपेटामा सजिलै आउन सक्छन् । हाम्रो शरीरको प्रतिरोधक क्षमताले हामीलाई धेरै रोग र संक्रमणबाट बचाउँछ । हाम्रो शरीरमा हाड, मज्जा र कोशिकाहरुको निर्माण हुन्छ । यो नै पछि परिपक्व भएर प्रतिरोधक क्षमताको एक भाग बन्छ । जुन बालबालिकामा प्रतिरोधक क्षमताको कमी हुन्छ, तिनको शरीरमा क्यान्सरका कोशिका फैलिने सम्भावना बढी रहन्छ । 

शारीरिक गतिविधिमा कमी 

जो शारीरिक रुपमा त्यति सक्रिय हुँदैनन्, अथवा जसको तौल आवश्यकताभन्दा धेरै छ, तिनलाई क्यान्सर हुने सम्भावना बढी रहन्छ ।

वंशाणुगत 

प्रायः क्यान्सर हाम्रो गुणसूत्रको निर्माण प्रक्रियामा निर्भर रहन्छ । गुणसूत्र अर्थात् जिन्समा वंशाणुगत कारणले पनि परिवर्तन आउन सक्छ । एक पुस्तालाई क्यान्सर लागेको छ भने अर्को पुस्तालाई पनि लाग्न सक्छ । आमाबुबालाई यो रोग छ भने बच्चालाई लाग्नै पर्छ भन्ने अनिवार्यता चाहिँ छैन । आमाबुबा क्यान्सरको रोगी भएमा बालबालिकालाई पनि क्यान्सर लाग्ने सम्भावना धेरै भने हुन्छ । 

हार्मोन

कतिपय अवस्थामा हार्मोनको असन्तुलनले पनि क्यान्सर रोग उत्पन्न गर्न सक्छ । केही अनुसन्धानका अनुसार बालबालिकाको पोषणका लागि दिइने केमिकलयुक्त खाद्यपदार्थ र औषधिले पनि शरीरमा हार्मोनमा असन्तुलन ल्याई क्यान्सर लाग्ने सम्भावना रहन्छ । 

विकिरण 

जमीन र वातावरणमा फैलिने कस्मिक किरण रेडिएसनको प्रमुख कारण हो  । कस्मिक किरण रेडन ग्यास, रेडिएक्टिभ स्राव, एक्स–रे र परमाणु हतियारबाट निस्किन्छ । यो विकिरणले कोशिकालाई क्षति पुर्याई बालबालिकालाई क्यान्सर लाग्न पनि सक्छ । धेरै पटक भिडियो एक्सरे गर्ने बालबालिकामा क्यान्सरको खतरा बढी रहन्छ । 

प्रदूषण 

प्रदूषण पनि क्यान्सरको प्रमुख कारण हो । अहिले जताततै फैलिरहेको प्रदूषणका कारण धेरै बालबालिका सजिलै क्यान्सरका कारक तत्त्वको सम्पर्कमा आइरहेका छन् । 

भाइरस र ब्याक्टेरिया 

केही विशेष भाइरस र ब्याक्टेरिया पनि क्यान्सरको कारण हुन् । एचपीभी (ह्युमन पेपिलोमाभाइरस), एचआईभी र अन्य केही ब्याक्टेरियाले पनि क्यान्सरलाई जन्म दिन सक्छन् । 

औषधि 

केही केमोथेरापीसम्बन्धी औषधिको कारण अर्को क्यान्सर हुने सम्भावना रहन्छ । बिरामीको प्रतिरोधक क्षमता सबल बनाउन दिइने औषधिले शरीरको प्रतिरोधक प्रणालीमा असर गरी क्यान्सर लाग्ने खतराको जन्म दिन सक्छन् । यी औषधिले लिम्फोमा हुने सम्भावना धेरै रहन्छ । लिम्फोमा भनेको क्यान्सरसँग प्रतिरोधक क्षमताले लड्दा हुने असर हो । 

आहार 

केही अनुसन्धानले रातो मासु, बासी मासु, नुन र तेलमा पकाइएको मासु आदि खानाले पेट, पाठेघर, मुत्रथैली, आन्द्रा आदिको क्यान्सर लाग्न सक्ने देखाएका छन् । 
क्यान्सरग्रस्त बालबालिकालाई विशेष ख्याल गरौं 

अधिकांश बालबालिकाको समय खेलकुद, हाँसो, रमाइलोमा बित्छ । तर, क्यान्सरबाट ग्रस्त बालबालिकाले आफ्नो स्वास्थ्यावस्थाका कारण बालापन नै गुमाउनुपर्ने अवस्था आउन सक्छ । यसबाट उनीहरु डिप्रेसनमा पनि पर्न सक्छन् । यस्तोमा रोगको निदान भए पनि त्यसले उनीहरुको मनमस्तिष्कमा गहिरो चोट पुर्याउन सक्छ । त्यसैले उनीहरुका इच्छा आकांक्षा बुझ्ने कोसिस गर्नुपर्छ ।

उनीहरुलाई बोझको रुपमा नलिई विशेष माया गर्नुपर्छ । राम्रो उपचार, स्याहारसुसार र माया दिएमा उनीहरुले अन्य बालबालिकाले झैं सामान्य जीवन जिउन सक्छन् । त्यसैले उनीहरुलाई बाधाको रुपमा नलिई उनीहरुको सहारा बनौं । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै