• २०८१ बैशाख १६ आइतबार

विष्णु प्रसाद न्यौपानेको प्रष्टीकरण : सौरभ ग्रुपमा कुनै किसिमको विदेशी लगानी छैन

kharibot

काठमाडौँ । सौरभ ग्रुपका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले आफ्ना कुनै पनि कम्पनीमा विदेशी लगानी नरहेको स्पष्टिकरण दिएका छन् ।

हाल सिमेन्ट, स्टिल, धागो, चिया र इलेक्ट्रोनिक्स क्षेत्रमा लगानी गरेका न्यौपानेले बुधबार खोजपत्रकारिता केन्द्रले नेपाललिक्सका नाममा सार्वजनिक गरेको रिपोर्ट प्रति आपत्ति जनाउदै रिपोर्टमा कपोकल्पित र असत्य कुरा समावेश गरिएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै न्यौपानेले रिपोर्टमा उल्लेख गरिए जस्तो आफ्नो कम्पनी सौरभ ग्रुप कुनै किसिमका गुटका, सुपारी र साबुन जस्ता उत्पादनसँग सम्बन्धित नरहेको बताएका छन् । 

ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टमा हङकङस्थित कृष्णा होल्डीङसको विगतमा ३८ प्रतिशत लगानी रहेको र अहिले सो कम्पनीले कानुनी रुपमा नै सो लगानी फिर्ता लगिसकेको बताए । सो कम्पनी सर्वोत्तम सिमेन्टसँग ४ बर्ष लगानीकर्ताको रुपमा रहेको बताउदै हाल सो कम्पनीले सबै सेयर नेपालीलाई नै बेचेर फिर्ता गएको जानकारी दिए ।

साथै सौरभ ग्रुप अन्तर्गत रहेको सौरभ इन्टरनेशनलको कर फर्स्यौटका विषयमा यसअघि कर कार्यालयको इन्ट्रीमै गलत भएकोले कर कार्यालयले सो गल्ति स्वीकार गरेर हाल कर फर्स्यौट आयोग मार्फत सो विषय मिलिसकेको बताए ।

आफ्नो अर्को कम्पनी लक्ष्मी स्टिलले कुनै कर छुट नलिएको दाबी गर्दै न्यौपानेले लक्ष्मी स्टिल स्टिल उद्योगमध्ये धेरै कर तिर्ने कम्पनी भएको र कर छुटको आवश्यकता नरहेको बताए ।

साथै खोजपत्रकारिता केन्द्रको रिपोर्टमा भक्तपुर स्थित १७ तले भवनको विषय उठाइएको प्रति न्यौपानेले स्पष्ट पार्दै त्यसमा कुनै किसिमको विदेशी लगानी नरहेको बताए । सो भवनका लागि यसअघि नै ५ तलाको लागि नगरपालिकाबाट र पछाडीको १७ तलाको नगरविकास बाट आवासीय भवनको प्लानिंग परमिट लिइएको बताए । हाल आवासीय भवनको सट्टा होटल निर्माण गर्ने गरि भक्तपुर नगर विकास तथा ठिमी नगरपालिकामा आवेदन दिइएको र निर्णय हुने प्रक्रियामा रहेको बताए ।

साथै आफुलाई लक्ष्मी सिमेन्ट, केपी सिमेन्ट, घोराही सिमेन्टसँग जोडेको भन्दै यी कम्पनीहरुसँग आफ्नो कुनै किसिमको व्यावसायिक सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

न्यौपानेले आफ्नो समुहले नेपालमा विभिन्न उद्योगमा १६ सय करोड आफ्नो र बैंकको सहित गरी ३६ सय करोडको लगानी गरेको र बार्षिक ३ हजार करोडको कारोबार हुने बताउदै समुहमा आफ्नो पारिवारिक लगानी रहेको स्पष्ट पारेका छन् । 

उनले यो आफ्नो पारिवारिक व्यापार रहेको भन्दै आफ्नो परिवारको कुनै पनि सदस्य एनआरएन या अन्य कुनै विदेशीसँग सम्बन्ध नरहेको बताएका छन् ।

खोजपत्रकारिता केन्द्रको रिपोर्ट गलत भएको भन्दै न्यौपानेले आफ्नो समुहसँग सम्बन्धित सबै खाले सूचना र प्रमाण दिन तयार रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै