• २०८१ बैशाख २७ बिहीबार

भिटामिन डीको कमीले बढ्छ मुटुको रोग र डायबिटिज

kharibot

हाम्रो शरीरको लागि भिटामिन डी अत्यन्त आवश्यक छ । घामको किरण भिटामिन डीको सबैभन्दा राम्रो प्राकृतिक स्रोत हो । तर, जो घाममा पटक्कै रहँदैनन्, अथवा कम रहन्छन्, तिनीहरुको शरीरमा भिटामिन डीको कमी हुन सक्छ । यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । 

भिटामिन डीलाई चमत्कारी भिटामिन भनिन्छ । यसले हामीलाई रोगबाट बचाउँछ । भिटामिन डीले थकान, मांसपेशीको कमजोरी, हड्डीमा हुने समस्या र डिप्रेसन पनि कम गर्छ । 

यसले क्यान्सर र उमेर बढ्दैजाँदा देखा पर्ने समस्याबाट बचाउने अनुसन्धाताहरु बताउँछन् । 

हाम्रो हड्डी बलियो हुन भिटामिन डी अत्यन्त आवश्यक छ । यसले हड्डीमा क्याल्सियम र फस्फेटलाई मिलाएर राख्छ । जसको शरीरमा भिटामिन डीको कमी छ, उसलाई भिटामिन डीको चक्की खाने सल्लाह दिइन्छ । 

बेलायतका करीब २० प्रतिशत मानिस भिटामिन डीको चक्की खाने गर्छन् । तर, भिटामिन डीले रोगसँग लड्ने क्षमता पनि प्रदान गर्छ भन्ने जस्ता केही गलत धारणा पनि छन् । 

के हो भिटामिन डी ?

यसको नाम भिटामिन डी भए पनि बास्तवमा यो भिटामिन नभई हार्मोन हो । यसले शरीरलाई क्याल्सियम पचाउन मद्दत गर्छ । तेलवाला माछा भिटामिन डीको राम्रो स्रोत हो । जब घामको अल्ट्राभायोलेट किरण हाम्रो शरीरमा पर्छ, तब शरीरमा रहेको कोलस्ट्रोलबाट भिटामिन डी बन्न सुरु हुन्छ । 

भिटामिन डी३ माछालगायत केही अन्य जनावरमा पाइन्छ । घामको किरण हाम्रो छालामा परेपछि भिटामिन डी३ को उत्पादन हुन थाल्छ । भिटामिन डी२ चाहिँ च्याउमा पाइन्छ । 

मानिसलाई दिनहुँ १० माइक्रोग्राम भिटामिन डीको आवश्यकता पर्ने बताइएको छ । अमेरिकामा दूध, ब्रेकफास्ट, अन्न, दही, जुस आदिमा भिटामिन डी मिलाएर बेचिन्छ । 

भिटामिन डीको कमीले हड्डीको डेन्सिटी कम हुन्छ । यसबाट रिकेट्स नामक रोग विशेषगरी नवजात शिशुलाई लाग्न सक्छ । अन्य मानिसलाई पनि यो रोग लाग्न सक्छ ।  

भिटामिन डीको कमीले मांसपेशी कमजोर हुन्छ, धेरै थकाइ लाग्छ । भिटामिनको कमीले शरीरमा तागतको कमी हुन्छ । यसको कमीले अन्य कीटाणुले पनि शरीरलाई छिटै आक्रमण गर्न सक्छ । हड्डी बढ्न र बलियो हुन भिटामिन डीको अहम् भूमिका छ । 

अचेल मानिसहरु कार्यालयीय कामका कारण घाममा बस्न त्यति पाउँदैनन् र यसले गर्दा हड्डी करकर खाने, हड्डी कमजोर भई थोरै ठेस लाग्दा पनि भाँच्चिने समस्या आउन सक्छ । 

भिटामिन डीले प्रत्यक्ष रुपमा प्रतिरोधात्मक क्षमता बढाउने कुरा अहिलेसम्म प्रमाणित हुन सकेको छैन । तथापि, यसले अप्रत्यक्ष रुपमा नै भए पनि शरीरको रोग प्रतिरोधक क्षमता बढाइरहेको हुन्छ । 

भिटामिन डीले  हाम्रो शरीरमा क्याल्सियम उत्पादन हुन सहयोग गर्छ । त्यसैले हड्डी बलियो हुन भिटामिन डी आवश्यक छ । तर, कतिपयलाई थाहा नहुन सक्छ कि

भिटामिन डीको कमीले मुटुको समस्या, हृदयघात, डायबिटिज जस्ता गम्भीर रोग पनि लाग्न सक्छन् । 

भिटामिन डीको कमीले मुटुसम्बन्धी समस्या 

भिटामिन डीको कमीले धमनीहरु कठोर हुन्छन् र तिनमा क्याल्सियम जम्मा हुन थाल्छ । त्यसपछि धमनीहरुमा रक्तप्रवाहमा कमी आउँछ । त्यसैले भिटामिन डीको कमीका कारण उच्च रक्तचाप, मुटुसम्बन्धी रोग बढ्ने सम्भावना रहन्छ । उच्च रक्तचाप भएका करीब ९० प्रतिशत मानिसमा भिटामिन डीको कमी पाइन्छ ।

त्यस्तै, एन्जाइनाबाट ग्रस्त ८० प्रतिशत मानिसमा भिटामिन डीको कमी पाइन्छ । भिटामिन डीको कामीका कारण प्याराथाइराइड हार्मोनको मात्रा बढ्छ र धमनीमा रगतको दबाब बढ्छ । उच्च रक्तचापका कारण यस्तो स्थिति आउँछ । 

डायबिटिजको सम्भावना 

भिटामिन डीको कमीले डायबिटिज हुने सम्भावना धेरै रहन्छ । ७० प्रतिशत डायबिटिज रोगीमा भिटामिन डीको कमी पाइएको छ । भिटामिन डीले इन्सुलिन हार्मोन बन्ने प्यान्क्रियाजको बिटा कोशिकाको कार्यप्रणाली बढाउँछ । डायबिटिजका रोगीलाई हरेक दिन केही समय घाममा बस्नुपर्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । 

शरीरको प्रतिरोधक क्षमतामा भिटामिन डी  

भिटामिन डीको कमीले शरीरको इम्युनिटी घट्छ र विभिन्न किसिमका रोग लाग्ने खतरा बढ्छ । त्यसैले भिटामिन डीको कमीले शरीरमा प्रतिरोधक क्षमताको कमीले हुने रोग लाग्ने सम्भावना रहन्छ । जस्तै, र्युमेटाइड अर्थराइटिस र थाइराइड ग्रन्थीसँग सम्बन्धित रोग लागेको मानिसमा भिटामिन डीको कमी हुन्छ । फोक्सोसम्बन्धी रोग जस्तै, दम, सीओपीडी र न्युमोनिया लागेका बिरामीमा भिटामिन डीको कमी हुन्छ । त्यसैगरी रगतको क्यान्सर भएका व्यक्तिमा पनि भिटामिन डीको कमी हुन्छ । 

भिटामिन डी कम हुनुका लक्षण 

हड्डी कमजोर हुने, भाँच्चिने, टुट्ने, फुट्ने हुन सक्छ,

मांसपेसी जकडिन्छ, कमजोरी र थकानको महसूस हुन्छ,

मांसपेसीमा पीडा महसूस हुन्छ ।

मानसिक अवस्थामा शीघ्र परिवर्तन आउँछ । चिन्ता, डर, डिप्रेसन आदिको समस्या उत्पन्न हुन्छ,

उच्च रक्तचापको समस्या,

अनिद्रा र थकानको समस्या, 

कार्यक्षमतामा कमी, 

बालबालिकाका लागि भिटामिन डी 

बालबालिकाको शरीरको लागि भिटामिन डी निकै आवश्यक छ । केही मानिस यसलाई उत्कृष्ट भिटामिन पनि भनिन्छ । 

भिटामिन डी बालबालिकाको स्वास्थ्य र तिनको शारीरिक विकासको लागि आवश्यक छ । हाल बालबालिकाहरु दिनभर घरभित्र अथवा विद्यालयको छतमुनि रहन्छन् । त्यसैले उनीहरुले पर्याप्त मात्रामा भिटामिन डी पाउँदैनन् । अतः उनीहरुलाई दैनिक केही समय घाममा बसाउन, खेलकुद गर्न, पार्कमा घुम्न लैजानुपर्छ ।

यदि दैनिक रुपमा केही समय घाममा बस्ने हो भने शरीरमा भिटामिन डीको कमी हुन पाउँदैन । 

बालबालिकालाई किन आवश्यक 

बालबालिकाको हड्डी  र दाँत बलियो बनाउने क्याल्सियम र पोटासियमको मात्रा ठीक राख्न  

शरीरमा मिनरलको सन्तुलन र रगत जम्मा हुन नदिन 

मुटु र नसाको प्रणाली ठीक राख्न 

शरीरमा इन्सुलिनको मात्रा ठीक राख्न 

प्रतिरोधक क्षमता बढाउन  । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै