काठमाडौँ । लिग कपको फाइनलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्ने भएका छन् । गएराती भएको सेमिफाइनलको दोस्रो लिगमा पेनाल्टी सुटआउटमा चेल्सीले टोटनह्यामलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा चेल्सी २-१ ले अगाडी रहेपनि पहिलो लिगमा टोटनह्याम १-० ले अगाडी रहेकाले समग्रमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीबाट निर्णय गरिएको थियो । पेनाल्टी सुटआउटमा चेल्सीले ४-२ ले जित हासिल गरेको थियो ।
यसअघि चेल्सीको दोस्रो लिगको जितमा एन गोलो कान्टे र इडेन हजार्डले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि फर्नान्डो लिओरेन्टेले एक गोल फर्काएका थिए ।
यसअघि म्यानचेस्टर सिटीले बर्टनलाई पहिलो लिगमा ९-० गोल अन्तर र दोस्रो लिगमा १-० गरी समग्रमा १०-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।
अब लिग कप (कराबाओ कप) को फाइनल चेल्सी र सिटीबीच फेब्रुअरी २४ मा हुने छ ।