• २०८१ बैशाख १७ सोमबार

'पहाडकी रानी' बन्दीपुर, घुम्न जाने हैन त ? (फोटो फिचर)

kharibot

बन्दीपुर । 'पहाडकी रानी' उपमाले चर्चित बन्दीपुर २०२५ सालसम्म तनहुँ जिल्लाको सदरमुकाम हुने गर्थ्यो । व्यापारिक केन्द्रका रुपमा स्थापित भएकाले चहलपहल निकै थियो । तर सदरमुकाम दमौलीमा सरेसँगै त्यहाँका बहुसंख्यक नेवारहरू अन्यत्र जान थाले । र विस्तारै बन्दीपुर सेलाएर 'भूताहा शहर' जस्तो बन्दै गयो । तर पछि बाहिर रहेका बन्दीपुरेहरूले आफ्नो सुन्दर र रमणीय गाउँलाई व्युताउने अभियानमा लागे । त्यसैको उपज हो अहिलेको बन्दीपुर, जो आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ । 

पृथ्वी राजमार्गमा पर्ने डुम्रेबाट ८ किलोमिटर दूरिमा रहेको बन्दीपुर बजारमा अहिले जताततै ढुंगा विछ्याईएको छ । धुलोधुवाँरहित वातावरण पाइन्छ । चिसो र स्वच्छ हावाले टिबीका किटाणुहरू निर्मुल पार्ने भएकाले पहिले-पहिले विभिन्न स्थानबाट रोग निको पार्न रोगीहरू आउने गरेको स्थानीय समाजसेवी राजु विश्वकर्मा बताउँछन् । दर्जनौ भन्दा बढी होटल र होमस्टेहरू संचालनमा छन् । चारैतिर सफा छ । र सबैभन्दा आकर्षणको केन्द्र त्यहाँबाट सुन्दर दृश्यहरू अवलोकन गर्न पाइन्छ । बन्दीपुरबात अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृंखलाहरुको मनोरम दृश्य देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरूले जो कसैको पनि मन लोभ्याउँछ । त्यस्तै टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, महालक्ष्मी मन्दिर पनि पर्यटकको गन्तव्य बन्ने गर्छन् । 

बन्दीपुर पुगेपछि एसियाको सबैभन्दा ठूलो गुफा दाबी गरिएको सिद्धगुफाको अवलोलक समेत गर्न पाइन्छ । प्याराग्लाइडिङको आनन्द लिन पाउनुका साथै स्थानीय नेवार र मगर समुदायको कला-सस्कृतिको स्वाद लिन पाइन्छ । समाजशास्त्रमा विद्यावारिधि गरिरहेका स्थानीय राजु विश्वकर्माकाअनुसार बन्दीपुर पहिले मगर जातिहरूको थियो । तर पछि १७७८ तिर पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गर्दा भक्तपुरबाट भागेका नेवारहरू बन्दीपुर आए र यतै व्यापार व्यवसाय गर्न थाले । बन्दीपुरमा अहिले स्थानीयका विभिन्न जात्रा र सास्कृतिक गतिविधिहरू हर्षोल्लासका साथ सम्पन्न हुने गर्छन् ।

बन्दीपुरको पर्यटन र चौतर्फी विकासका लागि लामो समयदेखि स्थानीयहरू सक्रिय रहँदै आएका छन् । विसं २०४९ सालमा शिक्षाविद चिजकुमार श्रेष्ठको अगुवाईमा काठमाडौँमा स्थापना गरिएको बन्दीपुर सामाजिक विकास समितिले बन्दीपुरको कायापलट गर्न सहयोग गर्यो । गाउँको शिक्षा, पर्यटन र विकासका लागि विभिन्न अभियानहरू संचालन भए ।

सन्तकुमार श्रेष्ठ, चिजकुमार श्रेष्ठ र डा. मदन पियाले पर्यटन, शिक्षा र स्वास्थ्यमा नेतृत्व गरे भने नमस्तेलाल श्रेष्ठले सरसफाइमा विशेष योगदान पुर्याए । र विस्तारै चौतर्फी पहलमा बन्दीपुर देश-विदेशमा चम्किदै गयो । र अहिले सबैको आकर्षणको केन्द्रमा परेको छ बन्दीपुर । दिनहुँ सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको स्थानीयहरू बताउँछन् ।

बन्दीपुरलाई विकास गर्न रानीवन क्षेत्रमा भ्युटावर निर्माणका क्रममा रहेको छ । त्यस्तै मानवनिर्मित ताल पनि बन्ने भएको छ । बन्दीपुरमा केवलकार पनि निर्माणको क्रममा रहको छ । बन्दीपुरलाई उठाउन स्थानीयवासी, व्यापारी र गाउँपालिका लागिपरेका छन् ।

प्राकृतिक सम्पदाले धनि नेपालमा बन्दीपुरजस्ता सुन्दर स्थानहरूको कुनै कमी छैन । स्थानीय र राज्यले मिलेर आफ्नो गाउँ-ठाउँ विकास गर्ने हो भने बन्दीपुरको जस्तो विकास हाँसिल गर्न असम्भव छैन । 

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै