• २०८१ बैशाख १५ शनिबार

सुदूर पश्चिमाञ्चल साहित्य समाजको रजत जयन्ती समारोह सम्पन्न

kharibot

काठमाडौं  । सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी, कैलालीले आफ्नो २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा रजत जयन्ती समारोह (२०७५) धनगढीस्थित आफ्नै भवन परिसरमा विभिन्न कार्यक्रम गरी ३ दिनसम्म भव्यतापूर्वक सम्पन्न गर्यो ।

यही फागुन १८ देखि २० गतेसम्म सम्पन्न कार्यक्रमको पहिलो दिन अर्थात् १८ गतेका दिन उद्घाटन तथा पुरस्कार वितरण र देउडा कार्यक्रम सञ्चालन भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि सु.प.प्रदेशका सामाजिक विकास मन्त्री माननीय कृष्णराज सुवेदीले पानसमा बत्ती बालेर उद्घाटन गरे । यस क्रार्यक्रममा मन्त्री सुवेदीले पृथ्वीनारायण क्याम्पस पोखराका प्रा.डा.कुसुमाकर न्यौपानेलाई नेपाली लोकसाहित्यका क्षेत्रमा विशेष योगदान गरेवापत देवकान्त पन्त लोकसाहित्य पुरस्कार प्रदान गरे । लोकसंस्कृतिविद न्यौपानेले विशेष गरी नेपाली जनजीवनमा आदिंम कालदेखि छरिएर रहेका लोकसाहित्यका साथै लोकसंस्कृतिका विभिन्न विधालाई अनुसन्धान गरी यस संकलन, संरक्षण र प्रचारप्रसारमा विशेष योगदान दिएका छन् । निजले कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पती र वन, गोपीचन लोकनाटक, लोकरामायण,कस्केली जातजाति र उखान, दशावतार बालन लोकनाटक, नेपाली लोकगीत, नेपाली लोकगीतका सन्दर्भ जस्ता अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका छन् । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा नेपाली लोकसंस्कृतसम्बन्धी गोष्ठीपत्र प्रस्तुत गरेर नेपाली लोकसंस्कृतिलाई विश्वजगतमा चिनाउन योगदान पुर्याएका छन् ।     

मन्तव्य प्रकट गर्ने क्रममा संस्कृति राष्ट्रको मुटु भएकाले यसको संरक्षण र सम्बद्र्धनका निम्ति सबै एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ भन्दै प्रमुख अतिथि माननीय मन्त्री कृष्णराज सुवेदीले आफ्नो मन्त्रालय यस्ता कार्यक्रमका निम्ति सदा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उक्त समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा संस्थाका उपाध्यक्ष रुपा स्वाँरले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव गणेश नेपालीले गरेका थिए ।

उक्त कार्यक्रममा धनगढी नगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टराईलाई पनि सम्मान गरिएको थियो । यस्तै कवि विमल वैद्य, कवि सुरेन्द्र अस्तफल, दीनानाथ बराल, दिलानन्द पन्त, बसन्त वाग्चन्दलाई विभिन्न पुरस्कारद्वारा  पुरस्कृत गरिएको थियो । त्यस क्रममा  पुरस्कृत व्यक्ति प्रा.डा.कुसुमाकर न्यौपाने, कवि विमल वैद्य, सुरेन्द्र अस्तफल, दीनानाथ बराल, उपप्रमुख सुशीला मिश्र भट्टराई, यज्ञराज उपाध्याय, वासुदेव पाण्डेले मन्तव्य प्रकट गरेका थिए । 

समारोहको दोस्रो दिन अर्थात् १९ गतेका दिन सम्पन्न विशेष कविगोष्ठीको प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपाने थिए । कविगोष्ठीमा विमल वैद्य, सुरेन्द्र अस्तफल, यज्ञराज उपाध्याय, रुपा स्वाँर, गोमती पनेरु, प्रभाकर भण्डारी, मिना वावली, ध्रुव तिमिल्सिना, सन्तोष अवस्थी, अशोक ठगुन्ना, सत्या उपाध्यायलगायत दर्जनौं साहित्यकारले आआफ्ना सिर्जना वाचन गरेका थिए । पुरस्कृत व्यक्तित्व तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. न्यौपानेले नेपाली साहित्यलाई विश्वजगतमै उत्कृष्ट तुल्याउनका निम्ति साहित्यलेखनमा देखिएका कमीकमजोरी निराकरण गर्नुपर्ने अवस्था आएको कुराको बोध गराए । 

तेस्रो दिन अर्थात् २० गतेका दिन समापन समारोहमा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड थिए । यस कार्यक्रममा प्रमुख अतिथि नृप बड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रुपमा पहलमानसिंह स्वाँर नाट्यशालाको शीलान्यास गरे ।

मन्तव्यका क्रममा प्रमुख अतिथि बडले साहित्यकार तथा संस्कृतिका क्षेत्रमा लागेका व्यक्तिहरुको भावनाअनुसार यस क्षेत्रको साहित्य र संस्कृतिको संरक्षण र विकासका निम्ति आपूm निरन्तर सक्रीय रहने साथै स्थानीय निकाय पनि परिचाल गरी सहयोग पुर्याउने विचार व्यक्त गरे । यसै क्रममा उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बडलाई सम्मान गरिएको थियो । यस क्रममा रचना वाचनका साथै लोककला पनि प्रस्तुत गरिएको थियो । 

स्थानीय तथा प्रादेशिक सरकारलाई समेटेर विभिन्न क्षेत्रका साधकलाई पुरस्कार तथा श्रद्धेय व्यक्तिहरुलाई सम्मान प्रदान गर्दै विभिन्न गतिविधिका साथ एकताबद्ध भई गरिएको यस समारोहले नेपालको सुदूर पश्चिमी क्षेत्रमा नेपाली साहित्य र संस्कृतिको विकासमा जागरण आउने विश्वास गरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै