• २०८१ बैशाख १७ सोमबार

‘विवाहेतर सम्बन्ध राख्ने मानिस धेरै सन्तुष्ट’ 

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौं । विवाहभन्दा अलग सम्बन्ध स्थापना गरी धोका दिनेलाई माफीको कल्पनासम्म पनि गर्न सकिँदैन भन्ने आम धारणा छ । तर, अमेरिकाको एक अनुसन्धानले योभन्दा नितान्त फरक तथ्य फेला पारेको छ । विवाहेतर सम्बन्ध राख्ने केही मानिस खुसी रहने उक्त अध्ययनले देखाएको छ । 

हामीमध्ये अधिकांश मानिस सम्बन्धमा कुनै पनि धोकालाई स्थान दिँदैनौं । दुईको बीचमा कोही तेस्रोको व्यक्तिको कल्पना गर्नु समेत नाजायज मानिन्छ हाम्रो समाजमा । तर, कतिपय मानिस वैवाहिक जीवनमा उतारचढाव आएपछि अतिरिक्त सम्बन्ध राख्न रुचाउँछन् । यो केकति सही हो त ?

हालसालै गरिएको एक अध्ययनमा केही यस्ता जोडी भेटिए जो विवाहेतर सम्बन्धलाई आफ्नो खुसीको कारण मान्दछन् । 

अमेरिकाको मिसौरी स्टेट युनिभर्सिटीकी प्राध्यापक डा. एलिसिया वाकरले एस्ले मेडिसिन नामक एक डेटिङ साइटका एक हजारभन्दा बढी प्रयोगकर्ताबीच एक सर्वेक्षण गरेकी थिइन् । यो डेटिङ साइट पनि अनौठो छ । यसले केवल विवाहित दम्पती अथवा सम्बन्धमा रहेका जोडीका लागि मात्र डेटिङको सुविधा उपलब्ध गर्दछ । सर्वेक्षणमा संलग्न व्यक्तिहरुसँग गृहस्थीभन्दा बाहिर कुनै सम्बन्ध बनाएपछि जीवनको सन्तुष्टिमा केकति असर परेको छ भनी सोधिएको थियो । 

महिलाहरु धेरै खुसी 

अचम्मको कुरा त १० मध्ये ७ मानिसले विवाहेतर सम्बन्ध स्थापित गरेपछि आफ्नो वैवाहिक जीवन धेरै सन्तुष्ट रहेको बताएका थिए । 

तथ्यांकका अनुसार पुरुषभन्दा महिला आफ्नो विवाहेतर सम्बन्धका कारण धेरै खुसी थिए । सन्तुष्टिलाई प्रभावित गर्ने धेरै कारकहरु थिए जस्तै, साइड पार्टनरसँग हप्तामा कम्तीमा दुई पटक यौन सम्बन्ध स्थापित गर्नु आदि । 

अफेयर सकिएपछि झन् खुसी 

विवाहेतर सम्बन्ध सकिएपछि आफ्नो पतिपत्नी अथवा प्रेमीलाई धोका दिएकोमा पछुतो हुन्छ त ? भन्ने प्रश्नको उत्तर पनि झन् अचम्म लाग्दो थियो । शोधमा संलग्न मानिसले विवाहेतर सम्बन्ध सकिएपछि जीवनमा पहिलेको भन्दा पनि बढी सन्तुष्टिको अनुभव भएको बताएका थिए । 

धोकाधडीमा सन्तोष 

यो अनुसन्धानमा मात्र धोकाधडीबाट सन्तुष्टि मिल्ने तथ्य फेला परेको होइन । योभन्दा अलग पबमेड नामक एक जर्नलमा पनि यस्तै किसिमको प्रतिवेदन छापिएको थियो । उक्त प्रतिवेदनले पनि जसले विवाहेतर सम्बन्ध राखेर पनि आफ्नो पार्टनरलाई थाहा दिँदैनन्, तिनीहरु धेरै सन्तुष्ट हुने देखाएको थियो । 

त्यसो भए के धोका दिनु जायज हो त ?

यी अध्ययन प्रतिवेदनले गृहस्थी जीवनभन्दा इतर सम्बन्ध राख्ने मानिस धेरै सन्तुष्ट रहने देखाए पनि वैवाहिक जीवनमा देखा पर्ने समस्यासँग लड्ने यो सही समाधान भने पक्कै होइन ।

आफ्नो पार्टनरलाई धोका दिएर अन्य सम्बन्ध बनाएर पाएको सन्तुष्टि स्थायी हुँदैन । यसले वैवाहिक सम्बन्ध तहसनहस गर्न सक्छ । त्यसैले आपसी समस्या र सम्बन्धमा आएको गतिरोधलाई सरसल्लाह तथा परामर्श गरी आफ्नो वैवाहिक जीवनलाई राम्रो बनाउन सकिन्छ र सन्तुष्ट जीवन जिउन सकिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय