काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ।’ कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
महामन्त्री कोइरालाले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आएका थिए । संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन् । आफूलाई मत दिएकामध्ये ८० देखि ९० प्रतिशत हिन्दु धर्म मान्ने भएकाले हिन्दु धर्मकै पक्षमा रहेको उनले बताए ।
संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ ।
गत पुसमा सम्पन्न कांग्रेस महासमिति बैठकमा केही महासमिति सदस्यले हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर संकलन अभियान चलाएका थिए । अभियानमा कोइरालासहित कतिपय शीर्ष नेताहरुले समर्थन गरेका थिए । झन्डै बहुमत महासमिति सदस्यले हस्ताक्षर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्र हुनुपर्ने धारणासहितको हस्ताक्षर बुझाएका थिए ।
कोइरालाले ८५ प्रतिशतभन्दा बढी नागरिक हिन्दु भएको राष्ट्रलाई धर्म निरपेक्षता घोषणा गर्ने कदम उपयुक्त नभएको दोहोर्याए। ‘यसको त्यतिबेलै विरोध हुनुपर्थ्यो,’ कोइरालाले भने, ‘त्यति बेला किन विरोध नगरेको ? म धर्मगुरुहरूलाई पनि प्रश्न गर्छु।’ क्रिस्चियानिटीको पैसाका कारण धर्म निपरपेक्षता विरोध नभएको दाबी कोइरालाले गरे ।