काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफमा उत्कृष्ट खेल देखाएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा भारतसँग फेरी पराजित भएको छ । यसका साथै भारतले साफ महिला फुटबल च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
भारतको जितमा अन्जली तामाङ ग्रेस डांगमेई र डाली चिम्बरले एक एक गोल गरेका थिए भने नेपालको लागि एक गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
भारतका लागि ग्रेस डांगमेईले खेलको ६३औ मिनेटमा गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाएकी छन् ।
यसअघि नेपालका लागि खेलको ३४औ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल फर्काएकी थिइन् । सावित्राको प्रतियोगितामा यो चौथो गोल हो । उनले यस प्रतियोगितामा खेलेका सबै खेलमा गोल गरेकी छन् ।
यसअघि खेलको २६औ मिनेटमा भारतकी डालीमा चिम्बरले फ्री-किकबाट गोल गरेपछि भारतले सुरुवाती अग्रता लिएको थियो ।
यो सँगै भारतले साफ महिला च्याम्पियनसिपमा अहिलेसम्मका पाँचै उपाधि जितेको छ । नेपाल पाँच च्याम्पियनसिपमा चार पटक भारतसँग फाइनलमा पराजित भएको छ ।