• २०८१ बैशाख १८ मंगलबार

भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक

kharibot

भीमदत्त नगरपालिका

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । 

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए । 

“वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको छ”, उनले भने । 

घर मर्मतका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई रु एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । “निर्माणकार्य गरे घर नै भत्काइदिने भारतीय एसएसबीका जवानले धम्की दिने गरेको छ”, खड्क सार्कीले भने , “पुरानो बस्दै आएको घर भत्काएर मर्मतका लागि पाएको रकम थपेर घर निर्माण थालेका थियौँ, त्यो पनि बनाउन नपाइने भएपछि खुला आकाशमा परिवारसहित बस्नुपरेको छ ।” 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताए । उनले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताए । 

यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रबार रोक्न लगाएको थियो ।

एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ । दुई देशका प्रशासन प्रमुखबीच यही चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ । 

नगरपालिकाले ब्रह्मदेव बजारदेखि ३ नं सीमा स्तम्भसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो । भीमदत्त नगरपालिकाले ठेक्का आह्वान गरी सडक निर्माण शुरु गरेको थियो । पिल्लर नं ३ देखि ब्रह्मदेव बजारसम्म १३८ मिटर सडक कालोपत्रका लागि ठेक्का दिइएको थियो । 

यसअघि भारतले ब्रह्मदेव बजारसम्म सडक कालोपत्रका लागि रेखाङ्कन गरेको थियो । भीमदत्त नगरपालिका र स्थानीय प्रशासनको दबाबपछि भारतीय पक्ष नेपाली भूमिमा सडक निर्माणबाट पछि हटेको थियो । टनकपुर बाँधदेखि ब्रह्मदेव बजारसम्म एक हजार ३०० मिटर बाटो छ । त्यसमध्ये भारतीय पक्षले आफ्नो भूमिमा सडक निर्माण गरिसकेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय