• २०८१ बैशाख १७ सोमबार

२००० कर्मचारी कटौती गर्दै सोनीको मोबाइल शाखा

kharibot

काठमाडौं । आफ्ना स्मार्टफोनहरूबाट घाटा हुन थालेपछि जापानी कम्पनी सोनीले सन् २०२०सम्म आफ्नो मोबाइल शाखाबाट २००० कर्मचारी कटौती गर्न लागेको संचारमाध्यमले बताएका छन् । यदि यो समाचार सत्य भएको खण्डमा झन्डै २००० भन्दा बढी कर्मचारीहरू कि त कम्पनीबाट निकालिनेछन् कि त अर्कै शाखामा सरुवा गरिनेछन् ।

सामसुङ र एप्पलजस्ता ठूला कम्पनीसँग प्रतिस्पर्धामा रहेको सोनीको लोकप्रिय एक्सपेरिया फोनहरूको विश्व बजारमा १ प्रतिशत हिस्सा रहेको छ । तर कम्पनी आफ्ना मोबाइल फोनबाट निरन्तर रुपमा घाटामा गइरहेको छ । २०१८ मा मोबाइल शाखा ८६ अर्ब रुपैयाँ भन्दा बढी घाटामा गएको रोयटर्सले जनाएको छ । १२ महिनामा कम्पनीले ६५ लाख फोन मात्र बिक्री गर्न सकेको थियो ।

यसअघि सोनीले आफ्नो बेइजिंगको फ्याक्ट्री बन्द गर्न लागेको पुष्टी गरिसकेको छ । रोयटर्सका अनुसार कम्पनीले आफ्नो उत्पादन थाइल्याण्डमा सार्न लागेको छ । यस फ्याक्ट्रीले स्मार्टफोनहरू उत्पादन गर्नेछ तर कम्पनीले आफ्ना केही उत्पादनहरूका लागि कन्ट्रयाक्टरहरूलाई आउटसोर्स गर्न जारी राख्ने छ ।

आफ्नो व्यापारलाई व्यवस्थापन गर्न सोनीले महत्वपूर्ण कदम चालिरहेको छ । एक्सपेरिया फोनहरू निर्माण गर्ने सोनी मोबाइल कम्युनिकेशन शाखालाई अन्य शाखासँग मर्ज गरेर 'इलेक्ट्रोनिक प्रडक्ट्स एण्ड सोलुसन्स' शाखा निर्माण गर्ने कम्पनीले जनाएको छ ।

विज्ञहरूले सोनीलाई स्मार्टफोन बजारबाट पछि हटेर आफ्नो क्यामेरा सेन्सर र गेमिंग निर्माणमा केन्द्रित हुन सुझाव दिइरहेका भए पनि कम्पनीले अत्याधुनिक एक्सपेरिया फोनहरूलाई निर्माण गर्न जारी राखेको छ ।

कम्पनीले २०१९को फेब्रुअरीमा मात्र एक्सपेरिया १, एक्सपेरिया१० र एक्सपेरिया १० प्लस समार्टफोनहरू लन्च गरेको थियो । निकट भविष्यमा सोनीले ५ जी स्मार्टफोन पनि लन्च गर्ने बताइएको छ ।

यो हप्ताको सुरुवाततिर मात्रै सोनीका पूर्व सीईयो काजुओ हिराईले जुनसम्ममा कम्पनी छाड्ने घोषणा गरेका थिए । तर उनी कम्पनीमा सल्लाहकारका रुपमा भने काम काम गरिरहनेछन् । आफ्नो कार्यकालमा उनले प्लेस्टेशन ब्रान्डलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै