• २०८१ बैशाख २० बिहीबार

ब्रेक्जीटः युरोपेली युनियनबाट छ महिना म्याद थप

kharibot

ब्रसेल्स / युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियन (इयू)बाट बहिर्गमन (ब्रेक्जीट) का लागि अरु छ महिना समय थप गर्न सहमत भएका छन् । यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको बहिर्गमन हुँदा उत्पन्न हुन सक्ने अस्तव्यस्त स्थिति तत्कालका लागि टरेको छ । ब्रेक्जीटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर रातिसम्म बैठक बसेको थियो ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै ब्रेक्जीट सम्झौताका लागि कार्य गर्ने र संसदबाट पनि अनुमोदन गर्ने बताइन् । उन्ले आफ्नो मुख्य लक्ष्य नै जतिसक्दो चाँडो इयूबाट अलग्गिनु रहेको स्पष्ट गरिन । उनले नयाँ सहमतिका बारेमा बेलायती तल्लो सदन हाउस अफ कमन्सलाई बिहीबार जानकारी गराउनेछिन  । साथै उनले राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य विपक्षी दल लेबर पार्टीसँग पनि वार्तालाई अघि बढाउनेछिन  ।

इयूका अरु २७ सदस्य राष्ट्रका नेताहरुले भने बेलायतको प्रस्ताव भरपर्दो नभएको बताउँदै बेलायतलाई थप समय दिनु आवश्यक नरहेको जिकिर गरेका थिए तर युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले आगामी अक्टोबर ३१ सम्मको समयावधि दिन उपयुक्त हुने बताएक  थिए ।

टस्कले शुरुमा ब्रेक्जीटका लागि एक वर्ष समय थप गर्न प्रस्ताव गरेका थिए , तर उनले अगाडि भने , “अहिले थप गरिएको समयावधि पनि उत्कृष्ट समाधानका लागि पर्याप्त छ । कृपया यो समय खेर नफाल्नुहोस् ।” ब्रेक्जीटका बारेमा प्रधानमन्त्री मेले गत नोभेम्बरमा गरेको सहमतिलाई बेलायती संसदले अस्वीकृत गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै