• २०८१ बैशाख १७ सोमबार

सुडानको सैनिक सरकारद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

kharibot

खर्तुम । सुडानको शासन सत्ता लिएको सैनिक परिषद्ले आन्दोलनकारीहरुलाई वार्तामा आउन बुधबार आह्वान गरेको छ । 

नागरिक सरकारको माग गर्दै आन्दोलनकारीहरुले लगातार आन्दोलन गर्ने घोषणा गरेपछि सैनिक परिषद्ले वार्ताका लागि आह्वान गरेको हो ।  

“आन्दोलनरत स्वतन्त्रता र परिवर्तनका लागि गठबन्धनका नेताहरुलाई वार्ताका लागि राष्ट्रपति निवासमा सैनिक परिषद्ले आमन्त्रण गर्दछ,” परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ । 

विपक्षी तथा आन्दोलनकारीका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सिधै सैनिक परिषद्का प्रमुख अब्देल फत्ताह अल बुर्हानसँग वार्ता गर्ने तयारी गरेको जानकारी दिएका छन् । 

विपक्षी नेता ओमर एल डिगेरले भन्नुभयो, “हामी सिधै सैन्य परिषद्का प्रमुखसँग वार्ता गर्ने तयारी गरेका छौँ, आशा छ, वार्ताबाट निकास निस्कने छ ।” 

यही अप्रिल ११ तारिखका दिन तत्कालीन राष्ट्रपतिलाई अपदस्त गरी सैनिक नेतृत्वले सत्ता हातमा लिएपछि सुडानमा आन्दोलन थप चर्किंदै गएको छ । 

उनीहरुले अहिलेको सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने माग गर्दै आएका छन् । 

उनीहरुको आन्दोलनप्रति देशी–विदेशी विभिन्न क्षेत्रबाट सहयोग र समर्थन बढ्दै गएपछि सैनिक शासकहरुले वार्ताका लागि तत्परता देखाएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै