• २०८१ बैशाख १७ सोमबार

विपद् पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ४० देशका १७० सरोकारवाला सहभागी 

kharibot

तस्बीर : रासस

काठमाडौँ ।  विपद्मा नागरिकलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह गर्न र सङ्कटबाट बचाउन ‘एशिया प्रशान्त प्रसारण सङ्घ’ (एबियु) को पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

‘एबियु’ एशिया प्रशान्त क्षेत्रका रेडियो र टेलिभिजन प्रसारणको संस्था हो । जलवायु परिवर्तन र विपद् पूर्वतयारीबारेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गरेका छन् ।

मन्त्रालयको आयोजना तथा एवियु, नेपाल टेलिभिजन र रेडियो नेपालको सहआयोजनामा उक्त सम्मेलन भएको हो । सम्मेलनमा जलवायु र विपद् साक्षरता तथा जलवायु परिवर्तनका असरबाट पर्नसक्ने जोखिमको न्यूनीकरणका लागि गरिनुपर्ने तयारी तथा अख्तियार गर्नुपर्ने नीतिका सम्बन्धमा छलफल जारी छ ।

सम्मेलनमा विभिन्न विषयका अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा १० सत्र सञ्चालन हुनेछन् । आज ‘दिगो विकास लक्ष्य हासिल गर्न जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणः चुनौती र सफलता’, ‘जलवायु परिवर्तन र समाज’, ‘जलवायु परिवर्तन र बढ्दो विपद् जोखिमः सञ्चार चुनौती र समाधान’लगायत पाँच सत्रमा छलफल गरिएको छ ।  

आजको ‘जलवायु परिवर्तन अनुकूलन र विपद् पूर्वतयारीमा मिडियाको समन्वय’ विषयक सत्रमा प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपाल सरकारले विपद्को पूर्वतयारीका बारेमा अपनाएको नीति र तयारीका बारेमा जानकारी गराएका थिए । उनले प्रत्येक वर्ष आउने बाढीको पूर्व तयारीका सम्बन्धमा नदी किनारका बासिन्दालाई सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण हुने व्यवस्थाका बारेमा बताएका थिए । डा अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई थप प्रभावकारी बनाउन सार्वजनिक प्रसारण सेवामा लैजानका लागि आगामी संसदीय अधिवेशनमा विधेयक पठाउने तयारीका बारेमा समेत जानकारी गराएका थिए । 

शुक्रबार ‘विपत्का समयमा सञ्चारमाध्यमको भूमिकाः नेपाली दृष्टिकोण’, ‘विपद्बारे तयारीसम्बन्धी जापानी र बङ्गलादेशी अनुभव’लगायत पाँच सत्रमा छलफल हुनेछ । 

सम्मेलनपछि प्राप्त सुझाव तथा अनुभवबाट विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अपनाउनुपर्ने सावधानीका विषय समेटिएको ‘काठमाडौँ एक्सन प्लान’ सार्वजनिक गरिने आयोजक समितिका सदस्य एवं रेडियो नेपालका प्रधान सम्पादक जनार्दन विष्टले जानकारी दिए । 

सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी, विपद् व्यवस्थापन क्षेत्रमा सक्रिय विज्ञ, नीति निर्माण तहमा रही प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरकारी अधिकारी, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलगायतको सहभागिता छ । सम्मेलनले रेडियो र टेलिभिजनमा कार्यरत कार्यक्रम निर्माता, प्रस्तोता, सम्पादक र समाचारदाताको क्षमता अभिवृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । सम्मेलनको मुख्य उद्देश्य रेडियो तथा टेलिभिजनबीच यसले एकापसमा राम्रा अनुभव आदानप्रदान गर्ने, रेडियो तथा टेलिभिजनमार्फत समाचार सम्प्रेषण र सर्वसाधारणलाई दुर्घटनाबाट बचाउनु रहेको प्रधान सम्पादक विष्टले बताए । 

चालीस देशका १७० विज्ञ र सरोकारवाला सहभागी 

सन् १९६४ मा स्थापना भएको ‘एवियु’ विश्वको ठूलो ब्रोडकाष्ट युनियन हो । एशिया प्रशान्त क्षेत्रका लागि खोलिएको यस संस्थामा हाल युरोपका दुई दर्जन बढी जति प्रसारण संस्था पनि सदस्य छन् । गैरनाफामूलक संस्थाका रुपमा रहेको एबियुमा विश्वका चार महादेशअन्तर्गतका ७६ देशका २७२ संस्था सदस्य छन् । 

नेपालबाट रेडियो नेपाल र नेपाल टेलिभिजन यसका मुख्य सदस्य छन् । नेपालमा भएको यो  पहिलो सम्मेलन हो । नेपालको प्रस्तावमा भूकम्प गएको दिनको अवसर पारेर यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा ४० देशका ७० जनाभन्दा बढी विदेशी र नेपालबाट सरोकारवाला निकायका १०० भन्दाबढीको सहभागिता छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले मिडियाले अनुसन्धानकर्ताको काम सजिलो भाषामा जनतामाझ पुर्याउन सहयोगी भूमिका खेल्ने भएकाले सम्मेलन महत्वपूर्ण भएको बताए ।

उनले सम्मेलनको सत्रमा गोरखा भूकम्पका बेला जनतालाई सूचना सञ्चार गर्दा सामना गरेका अनुभवका बारेमा जानकारी गराएका थिए । सापकोटाले सूचनाको स्रोत धेरै हुँदा जनतामा कस्तोसम्मको भ्रम हुन्छ र त्यसलाई विभागले कसरी व्यवस्थापन गरेको थियो भन्ने सन्दर्भमा प्रस्तुति गरेका थिए । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनका निष्कर्षको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने त्यसैले सम्मेलनको औचित्य निर्धारण हुने महानिर्देशक सापकोटाको भनाइ थियो । 
सञ्चार मन्त्रालयका उपसचिव राजन पौडेलले विपद्को पूर्वतयारी गर्नु र जनतालाई जानकारी गराउनु विपद्लाई कम गराउनु हो भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए । सम्मेलनमा सहभागिता जनाउन बङ्गलादेशका सूचनामन्त्री डा हसन महमुद आइसकेका छन् । मन्त्री डा महमुदले शुक्रबारको सत्रमा बङ्गलादेशले विपद्को पूर्वतयारी कसरी गरेको छ भन्ने विषयमा अनुभवको आदानप्रदान गर्ने उपसचिव पौडेलले जानकारी दिए ।

सम्मेलनका क्रममा नेपाल आउनुभएका एबियुका महासचिव जाबाद मोत्ताघीले आज सञ्चारमन्त्री बाँस्कोटासँग भेटवार्ता गरेका छन् । नेपाल जलवायु परिवर्तनका साथै विपद्को जोखिममा रहेकाले यस सम्मेलनबाट विपद् जोखिम न्यूनीकरण  तथा जलवायु परिवर्तनका असर, प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न सञ्चार क्षेत्रले खेल्दै आएको भूमिकाको अनुभव आदानप्रदान गरिनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै