काठमाडौँ । ब्राजिलका फुटबलर नेइमारका लागि पिएसजीमा सबै कुरा ठिक भइरहेको देखिदैन । शनिबार कोपा डे फ्रान्सको फाइनलमा रेन्नेजसँग पराजित भएपछि नेइमार फेरी अर्को विवादमा परेका छन् ।
यस अघि च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि सामाजिक संजालमा रेफ्रीको अपमान गरेको आरोपमा च्याम्पियन्स लिगका ३ खेलमा प्रतिबन्ध बेहोरेका नेइमारमाथि फेरी अर्को छानबिन हुने भएको छ ।
कोपा फ्रान्सको फाइनल खेल सकिएपछि मेडल लिन सिढी चड्ने क्रममा नेइमारले एक फ्यानलाई घुस्सा हानेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि फ्रेन्च फुटबल फेडेरेसनले सो प्रकरणमा छानबिन गर्ने भएको हो । ति फ्यानले पिएसजीका खेलाडीलाई अपमान गरेपछि नेइमारले घुस्सा हानेको दृश्य क्यामरामा कैद भएको हो ।
यस प्रकरणमा पिएसजीले एक विज्ञप्ति निकाल्दै ति फ्यानले पिएसजीका खेलाडीलाई अपमान गरेको उल्लेख गरेको छ । साथै नेइमारले पनि आफुले गल्ति गरेको स्वीकार्दै कोहि पनि तटस्थ रहन नसक्ने बताएका छन् ।
पिएसजीका प्रमुख प्रशिक्षक थोमस तुचेलले भने नेइमारले दर्शकलाई घुस्सा हानेकोमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले खेलमा पराजित भएपछिको क्षण पीडादायी हुन्छ तर हामीले केहि सम्मान देखाउनु पर्छ । हामी कोहि दर्शकसँग बाझ्न जानु उपयुक्त हुदैन ।
यस प्रकरणमा फ्रान्सका मिडियाहरुले नेइमारले कम्तिमा ५ खेलसम्मको प्रतिबन्ध झेल्न सक्ने बताएका छन् । यसको टुंगो बुधबार मात्र लाग्ने बताइएको छ ।