• २०८१ बैशाख १४ शुक्रबार

एप्पललाई पछि पार्दै हुवावे बन्यो दोस्रो ठूलो स्मार्टफोन कम्पनी 

kharibot

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावे सन् २०१९ को पहिलो त्रैमासमा आइफोन निर्माता कम्पनी एप्पललाई पछि पार्दै विश्वकै दोस्रो ठूलो स्मार्टफोन कम्पनी बनेको छ । रिसर्च फर्म काउन्टरप्वाइन्टका अनुसार यसका साथै एप्पल दोस्रोपटक शेयरमार्केटमा आफ्नो दोस्रो स्थान कायम गर्न असफल भएको हो । 

हाल हुवावेको स्मार्टफोनले अमेरिकामा पनि क्षेत्र विस्तार गरिरहेको छ । हङकङको फर्म काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको तथ्यांकका अनुसार हुवावेले सन् २०१८ को पहिलो त्रैमासमा ३ करोड ९३ लाख स्मार्टफोन बेचेको थियो । यो संख्या सन् २०१९ को पहिलो त्रैमासमा बढेर ५ करोड ९१ लाख पुगेको छ । एप्पलले सन् २०१८ मा ५ करोड २२ लाख आइफोन बेचेको थियो भने सन् २०१९ को सोही अवधिमा यो घटेर ४ करोड २० लाख पुगेको छ । 

हुवावेको यो सफलताको पछाडि धेरै कारण रहेको काउन्टरप्वाइन्टले बताएको छ । कृत्रिम बौद्धिकता र क्यामरामा नवप्रवर्तनले हुवावेको स्मार्टफोन विक्रीमा सहयोग गरेको काउन्टरप्वाइन्टको भनाइ छ । यसबाहेक हुवावेले अर्को ब्रान्ड ओनर ल्याएर चीनमा ठूलो मात्रामा विक्री बढाएको छ । चीनमा ओनर र हुवावे दुवै स्मार्टफोन प्रयोगकर्ताको पहिलो रोजाइमा छन् ।  

काउन्टरप्वाइन्टका अनुसन्धाता शोभित श्रीवास्तवले सामसुङ र एप्पलजस्तै हुवावे पनि तीव्र गतिमा अघि बढिरहेको ब्रान्ड बनेको बताएका छन् । हुवावेको यो गतिसँग एप्पलभन्दा पनि सामसुङ चिन्तित हुन आवश्यक रहेको उनको भनाइ छ । दक्षिण कोरियाको प्रविधि कम्पनी सामसुङ भने अझै पनि स्मार्टफोनको क्षेत्रमा पहिलो स्थानमा कायम छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै